प्रभु बैंकको खराब कर्जा १५.५ प्रतिशत पुगे पनि निक्षेप सुरक्षित: सीईओ शर्मा

ड्रागन मिडिया सम्वाददाता
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बैंकको खराब कर्जा १५.५ प्रतिशत पुगे पनि पर्याप्त नोक्सानी व्यवस्था, धितो र अन्य वित्तीय सूचक बलिया रहेकाले निक्षेपकर्ताको बचत सुरक्षित रहेको बताएका छन्। बैंकले खराब कर्जाको वास्तविक अवस्था पारदर्शी रूपमा सार्वजनिक गर्दै सुधार प्रक्रिया अघि बढाएको र आउँदो असारसम्म खराब कर्जा एकल अंकमा झार्ने लक्ष्य राखेको उनले बताएका छन्।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रभु बैंकले २४ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ। बैंकको खराब कर्जा १५.५ प्रतिशत पुगेको छ। यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा नोक्सानी व्यवस्थाअघिको कुल सञ्चालन आम्दानी दुई अर्ब रुपैयाँभन्दा बढीले बढेको र सञ्चालन खर्च १९ करोड रुपैयाँले घटेको शर्माले बताएका छन्। जोखिममा रहेका कर्जाका लागि बैंकले करिब चार अर्ब ९४ करोड रुपैयाँ थप कर्जा नोक्सानी व्यवस्था गरेको छ।
शर्माका अनुसार बैंकले हालसम्म करिब २५ अर्ब रुपैयाँभन्दा बढी कर्जा नोक्सानी व्यवस्था गरिसकेको छ भने करिब ३६ अर्ब रुपैयाँ बराबरको खराब सम्पत्ति छ। खराब सम्पत्तिमा रहेको धितोबाट औसत ५० प्रतिशत मात्र असुली भए पनि करिब १८ अर्ब रुपैयाँ प्राप्त हुन सक्ने उनको अनुमान छ। यसअघि नै ठूलो नोक्सानी व्यवस्था गरिएकाले भविष्यमा असुली भएको रकमको एक हिस्सा बैंकको आम्दानीमा फिर्ता आउन सक्ने उनले बताए।
बैंकको खराब कर्जा उच्च देखिनुलाई शर्माले अर्थतन्त्रको वास्तविक अवस्थासँग समेत जोडेका छन्। अर्थतन्त्र कमजोर रहेको अवस्थामा अन्य बैंकमा असल कर्जाको हिस्सा अत्यधिक देखिनु आफैँमा प्रश्नयोग्य रहेको उल्लेख गर्दै उनले प्रभु बैंकले समस्या लुकाउनेभन्दा पहिचान गरेर समाधान गर्ने नीति लिएको बताए।
कोभिडपछि सरकार र नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि चलायमान राख्न कर्जा विस्तार तथा पुनःसंरचनाका विभिन्न सुविधा दिएका कारण कतिपय समस्याग्रस्त कर्जा तत्काल खराब कर्जाका रूपमा नदेखिएको उनको विश्लेषण छ। पछिल्ला वर्षमा आर्थिक गतिविधि कमजोर हुँदै जाँदा ती समस्या क्रमशः सतहमा आएको उनले बताएका छन्।
बैंकका पूर्वअध्यक्ष, पूर्वप्रमुख कार्यकारी अधिकृत र केही कर्मचारीविरुद्ध अनुसन्धान तथा मुद्दा चलिरहेको भए पनि त्यसले बैंकको नियमित कारोबारमा असर नपारेको शर्माको दाबी छ। सम्बन्धित कर्जामा पर्याप्त धितो रहेको र कर्जा असुली हुने अपेक्षा गरिएको उनले बताए। पछिल्लो अवधिमा बैंकमा करिब सवा दुई लाख नयाँ बचत खाता थपिएको उल्लेख गर्दै उनले ग्राहकको विश्वास कायम रहेको बताएका छन्।
प्रभु बैंकसँग हाल करिब तीन सय शाखाको सञ्जाल रहेको छ। ई बैंकिङ, डिजिटल बैंकिङ, कार्ड तथा मोबाइल बैंकिङबाट मात्रै बैंकले करिब एक अर्ब रुपैयाँ शुल्क आम्दानी गरिरहेको शर्माले बताए। कर्जातर्फ पनि आधार दर प्रतिस्पर्धी रहेको र ठूला व्यावसायिक घरानादेखि साना तथा वञ्चित वर्गसम्म कर्जा प्रवाह भइरहेको उनको भनाइ छ।
समग्र बैंकिङ क्षेत्रमा पैसा थुप्रिए पनि कर्जाको माग कमजोर रहनुको मुख्य कारण आर्थिक गतिविधि र निजी क्षेत्रको आत्मविश्वासमा आएको कमी भएको शर्माको विश्लेषण छ। युवा जनशक्ति ठूलो संख्यामा विदेशिँदा आन्तरिक माग घट्ने, त्यसबाट उत्पादन तथा रोजगारी प्रभावित हुने र फेरि माग थप कमजोर हुने नकारात्मक चक्र अर्थतन्त्रमा देखिएको उनले बताए।
अर्थतन्त्र चलायमान बनाउन पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै शर्माले सरकारले सार्वजनिक बन्डमार्फत ठूला आयोजना अघि बढाउन सक्ने सुझाव दिएका छन्। बैंकहरूले आफ्नो कर्जा पोर्टफोलियोलाई धितोपत्रीकरण गरी बन्ड जारी गर्न सके थप लगानीका लागि ठाउँ सिर्जना हुने उनको धारणा छ।
नेपालको दीर्घकालीन प्रतिस्पर्धात्मक लाभ ऊर्जा, पर्यटन र सूचना प्रविधिमा रहेको शर्माको निष्कर्ष छ। विशेषगरी जलविद्युत र सौर्य ऊर्जा, पर्यटन तथा नेपालमै बसेर विदेशी बजारका लागि सेवा निर्यात गर्ने सूचना प्रविधि क्षेत्रलाई विस्तार गर्न सके आन्तरिक आय, रोजगारी र माग बढाउन सकिने उनले बताएका छन्।





