१७ भाद्र २०८३, बुधबार

पर्सा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणलाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजान CA|TS प्रक्रिया सुरु


ड्रागन मिडिया सम्वाददाता

पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या उल्लेख्य रूपमा बढेपछि संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन Conservation Assured | Tiger Standards (CA|TS) प्रमाणीकरण प्रक्रिया सुरु गरिएको छ।

सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०२६ को गणनाअनुसार संख्या बढेर ७१ पुगेको छ। बाघको संख्यामा भएको यो वृद्धिलाई दीर्घकालीन संरक्षण उपलब्धिमा रूपान्तरण गर्दै बासस्थान, आहारा, सुरक्षा, वैज्ञानिक अनुगमन र मानव–बाघ सहअस्तित्वलाई व्यवस्थित बनाउन CA|TS प्रक्रिया अघि बढाइएको हो।

यसैक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा पर्सा राष्ट्रिय निकुञ्जमा CA|TS सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, जेडएसएल नेपाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, निकुञ्जका कर्मचारी, उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाको सहभागिता थियो।

कार्यशालामा CA|TS प्रमाणीकरणका लागि आवश्यक प्रारम्भिक तयारी, स्वमूल्याङ्कन, व्यवस्थापन सुधार, प्रमाण संकलन तथा विभिन्न सरोकारवालाबीचको समन्वयबारे छलफल भएको प्रमुख संरक्षण अधिकृत खतिवडाले जानकारी दिए।

वरिष्ठ इकोलोजिष्ट आचार्यले बाघको संख्या बढ्नु महत्वपूर्ण उपलब्धि भए पनि संख्या वृद्धि मात्र संरक्षण सफलताको पर्याप्त आधार नहुने बताए। बाघको संख्या दीर्घकालसम्म कायम राख्न बासस्थान, आहाराका प्रजाति, सुरक्षा व्यवस्था र समग्र संरक्षण व्यवस्थापनको गुणस्तरमा निरन्तर सुधार आवश्यक रहेको उनको भनाइ छ।

CA|TS ले बाघको संख्या मात्र नभई बाघ संरक्षणका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्याङ्कन गर्ने भएकाले पर्सा राष्ट्रिय निकुञ्जका लागि यो महत्वपूर्ण अवसर भएको उनले बताए।

प्रमुख संरक्षण अधिकृत खतिवडाले सन् २०२२ देखि २०२६ सम्म पर्सामा बाघको संख्या ४१ बाट ७१ पुग्नु उल्लेखनीय संरक्षण उपलब्धि भए पनि अब बाघ र स्थानीय समुदाय दुवैलाई सुरक्षित राख्नु प्रमुख चुनौती बनेको बताए। संरक्षणबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

निकुञ्जले सञ्चालन गर्दै आएको ‘बाघ मित्र अभियान’लाई CA|TS प्रक्रियासँग जोडेर मानव–बाघ सहअस्तित्व, समुदायको सुरक्षा, सचेतना र स्थानीय सहभागितालाई अझ प्रभावकारी बनाउने तयारी गरिएको छ।

CA|TS अन्तर्गत बाघको संख्या मात्र नभई बासस्थानको अवस्था, आहाराको उपलब्धता, सुरक्षा, व्यवस्थापन क्षमता, वैज्ञानिक अनुगमन, स्थानीय समुदायको सहभागिता, मानव–बाघ द्वन्द्व, पर्यटन तथा बाघको दीर्घकालीन संरक्षण अवस्थाको समग्र मूल्याङ्कन गरिनेछ।

अब दर्ता, स्वमूल्याङ्कन, सुधार योजना निर्माण, अनुपालनसम्बन्धी दस्तावेज तयारी, राष्ट्रिय समीक्षा, स्वतन्त्र मूल्याङ्कन र अन्तर्राष्ट्रिय निर्णयसम्मका चरण क्रमशः अघि बढाइने निकुञ्जले जनाएको छ।

यस प्रक्रियामा बासस्थान तथा आहारा संरक्षण, चोरी–शिकार नियन्त्रण, स्मार्ट पेट्रोलिङ, मानव–बाघ द्वन्द्व व्यवस्थापन, वैज्ञानिक अनुगमन र समुदायको सहभागितालाई प्राथमिकता दिइनेछ।

कार्यशालामा सहभागी सरोकारवालाले CA|TS लाई केवल अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाका रूपमा नभई निकुञ्ज, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय, संरक्षण साझेदार र स्थानीय समुदायको साझा संरक्षण अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

बाघको संख्या तीव्र रूपमा बढिरहेको अवस्थामा CA|TS प्रमाणीकरण प्रक्रियाले पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण व्यवस्थापनलाई थप वैज्ञानिक, व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। संरक्षणको वास्तविक सफलता प्रमाणपत्र प्राप्त गर्नुमा मात्र नभई बाघ सुरक्षित हुनु, वन तथा बासस्थान स्वस्थ रहनु र स्थानीय समुदाय संरक्षणका सुरक्षित तथा सक्रिय साझेदार बन्नुमा निर्भर रहने निकुञ्जको निष्कर्ष छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button