१७ भाद्र २०८३, बुधबार

ताजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी, लेखा र न्यायिक समितिका कागजात जले

ड्रागन मिडिया सम्वाददाता

हुम्लाको ताजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आइतबार राति आगलागी हुँदा लेखा र न्यायिक समितिसँग सम्बन्धित महत्वपूर्ण कागजात तथा श्रेस्ता जलेका छन्।

गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाका अनुसार राति करिब १ बजे भवनको एउटा कोठामा आगलागी भएको हो। उक्त कोठामा लेखा समिति तथा न्यायिक समितिसँग सम्बन्धित कागजात र श्रेस्ता राखिएको थियो।

आगलागीबाट कति कागजात तथा अन्य सामग्रीमा क्षति पुगेको हो भन्ने विस्तृत विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ। घटनाको कारण पनि अहिलेसम्म खुल्न सकेको छैन।

महत्वपूर्ण सरकारी अभिलेख राखिएको कोठामै आगलागी भएकाले घटनालाई गम्भीर रूपमा लिइएको उपाध्यक्ष थापाले बताए। घटनाबारे छानबिन सुरु गरिएको र त्यसपछि मात्र आगलागीको प्रकृति तथा क्षतिको वास्तविक अवस्था स्पष्ट हुने उनको भनाइ छ।

गाउँपालिकाको प्रशासकीय भवनमा सीसीटीभी क्यामरा जडान भएकाले घटनाको कारण पत्ता लगाउन फुटेज अध्ययन गरिने भएको छ। सीसीटीभी दृश्यको विश्लेषणपछि आगलागी आकस्मिक थियो वा अन्य कुनै कारणबाट भएको हो भन्नेबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले घटनास्थलको अवस्था, जलेका कागजात तथा अन्य क्षतिको विवरण संकलन गरी छानबिनपछि सार्वजनिक गर्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button