वनस्पति तेलमा टिकेको निर्यात वृद्धि, साउनमै व्यापार घाटा १ खर्ब ४९ अर्ब नजिक

ड्रागन मिडिया सम्वाददाता
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको वस्तु निर्यात ६१.७४ प्रतिशतले बढे पनि व्यापार घाटा करिब १ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। निर्यात वृद्धिको मुख्य आधार प्रशोधित वनस्पति तेल बनेको छ भने समग्र व्यापार संरचनामा आयातको उच्च निर्भरता कायमै देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनमा नेपालले १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। अघिल्ला चार महिनामा मासिक आयात दुई खर्ब रुपैयाँभन्दा माथि रहेकामा साउनमा भने त्यो सीमाभन्दा तल झरेको हो। तर गत आर्थिक वर्षको साउनको तुलनामा आयात ३१.०४ प्रतिशतले बढी हो।
यस अवधिमा नेपालबाट ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको साउनमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको निर्यात भएकामा यस वर्ष ६१.७४ प्रतिशत वृद्धि भएको हो।
आयात र निर्यात जोड्दा साउनमा नेपालको कुल वैदेशिक व्यापार २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ। त्यसमा आयातको हिस्सा ८२.८९ प्रतिशत र निर्यातको हिस्सा १७.११ प्रतिशत छ। एक महिनामै व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ।
निर्यातमा देखिएको तीव्र वृद्धिको मुख्य कारण प्रशोधित वनस्पति तेल हो। साउनमा मात्रै १७ अर्ब ९९ करोड ३४ लाख रुपैयाँको प्रशोधित भटमास तेल, १ अर्ब २९ करोड २९ लाख रुपैयाँको पाम तेल र १ अर्ब २० करोड ७५ लाख रुपैयाँको सनफ्लावर तेल निर्यात भएको छ। कुल निर्यातमा वनस्पति तेलको हिस्सा ५५ प्रतिशतभन्दा बढी रहेको छ।
तर यस प्रकारको निर्यात वृद्धिले नेपालको आन्तरिक उत्पादन क्षमता विस्तार भएको संकेत नगर्ने अर्थविद्हरूको तर्क छ। कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर पुनः निर्यात गरिने वस्तुको हिस्सा बढी भएकाले निर्यातको तथ्यांक बढे पनि घरेलु अर्थतन्त्रमा त्यसको प्रभाव सीमित हुन सक्छ।
साउनमा सबैभन्दा बढी १८ अर्ब ४० करोड ४२ लाख रुपैयाँको कच्चा भटमास तेल आयात भएको छ। त्यसपछि १३ अर्ब ८५ करोड ४५ लाख रुपैयाँको डिजेल, ८ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको खाना पकाउने ग्यास, ७ अर्ब ८६ करोड ९३ लाख रुपैयाँको डाइमोनियम हाइड्रोजन फस्फेट र ६ अर्ब ८८ करोड २४ लाख रुपैयाँको पेट्रोल आयात भएको छ।
नेपालको वैदेशिक व्यापारमा भारत र चीनमाथिको निर्भरता पनि उच्च छ। साउनमा भारतबाट १ खर्ब २ अर्ब ४५ करोड १३ लाख रुपैयाँ र चीनबाट ३१ अर्ब ७४ करोड ६१ लाख रुपैयाँको वस्तु आयात भएको छ। दुई देशबाट मात्रै १ खर्ब ३४ अर्ब १९ करोड ७४ लाख रुपैयाँको आयात भएको छ।
निर्याततर्फ भारतको प्रभुत्व अझ ठूलो छ। साउनमा भारततर्फ ३३ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन कुल निर्यातको करिब ८६ प्रतिशत हो। अमेरिकातर्फ २ अर्ब १८ करोड ६३ लाख रुपैयाँको वस्तु निर्यात हुँदा चीनतर्फको निर्यात २१ करोड २६ लाख रुपैयाँमा सीमित छ।
सरकारका पूर्ववाणिज्य सहसचिव रविशंकर सैंजुले पहिलो महिनामै देखिएको उच्च व्यापार घाटालाई चिन्ताजनक संकेतका रूपमा लिँदै आन्तरिक उत्पादन विस्तार, आयात प्रतिस्थापन र निर्यात विविधीकरणमा जोड दिनुपर्ने बताएका छन्। यही गति कायम रहे वार्षिक व्यापार घाटा १७ देखि १८ खर्ब रुपैयाँसम्म पुग्न सक्ने उनको अनुमान छ।
अर्थविद् पोषराज पाण्डेले पनि वनस्पति तेलको प्रशोधन र पुनःनिर्यातबाट मात्रै निर्यात बढ्नु दीर्घकालीन समाधान नहुने बताएका छन्। नेपालको आफ्नै उत्पादनको निर्यात वृद्धि नभएसम्म बाह्य व्यापारको संरचनागत कमजोरीमा उल्लेखनीय सुधार नआउने उनको भनाइ छ।
साउनमा आयात दुई खर्ब रुपैयाँभन्दा तल झर्नु सकारात्मक देखिए पनि वार्षिक आधारमा आयात ३१ प्रतिशतभन्दा बढीले बढेको छ। त्यसैले एक महिनाको आयात कमीलाई स्थायी सुधारको संकेत मान्न नसकिने र नेपालले दीर्घकालीन रूपमा उत्पादन, वस्तु विविधीकरण र नयाँ अन्तर्राष्ट्रिय बजार विस्तारमा केन्द्रित हुनुपर्ने देखिएको छ।





