सिचाङमा तिब्बती चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ‘चार चिकित्सा तन्त्र’ र मेडिकल थाङ्काको विश्वव्यापी अध्ययनमा जोड

ड्रागन मिडिया समाचार कक्ष
हजारौँ वर्ष पुरानो तिब्बती चिकित्सा परम्परालाई संरक्षण, वैज्ञानिक अध्ययन र अन्तर्राष्ट्रिय विस्तारसँग जोड्ने उद्देश्यले दोस्रो ‘चार चिकित्सा तन्त्र तथा मेडिकल थाङ्का अनुसन्धान अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ सिचाङ स्वायत्त क्षेत्रको ल्हासामा सम्पन्न भएको छ।
अगस्ट २० मा आयोजित सम्मेलनमा चीन, बेलायत, जर्मनी, नेपाललगायत विभिन्न देशका तिब्बती चिकित्सा तथा परम्परागत चिकित्सा क्षेत्रका दुई सयभन्दा बढी विशेषज्ञ र अनुसन्धानकर्ता सहभागी भएका थिए। उनीहरूले तिब्बती चिकित्साको ऐतिहासिक उत्पत्ति, सैद्धान्तिक प्रणाली, जीवित परम्पराका रूपमा यसको हस्तान्तरण, संरक्षण तथा उपयोग र अन्तर्राष्ट्रिय विस्तारबारे छलफल गरेका छन्।
सम्मेलनमा विशेषज्ञहरूले तिब्बती चिकित्सा अर्थात सोवा रिग्पाको प्रयोग र अध्ययन अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार हुँदै गएको बताएका छन्। यसको मूल आधार मानिने ‘चार चिकित्सा तन्त्र’ अर्थात ग्युशीले तिब्बती चिकित्साको व्यवस्थित सैद्धान्तिक तथा उपचार प्रणाली निर्माण गरेको मानिन्छ।
चार चिकित्सा तन्त्र तिब्बती चिकित्साको आधारभूत ग्रन्थ हो। यसमा रोगको उत्पत्ति, शरीर र स्वास्थ्यसम्बन्धी अवधारणा, निदान, औषधि, उपचार विधि, रोग रोकथाम र स्वास्थ्य संरक्षणसम्बन्धी विस्तृत ज्ञान समेटिएको छ। सन् २०२३ मा यो ग्रन्थ युनेस्कोको ‘मेमोरी अफ द वर्ल्ड’ अन्तर्राष्ट्रिय अभिलेखमा समावेश भएको थियो।

सम्मेलनको अर्को प्रमुख विषय ‘मेनथाङ’ अर्थात मेडिकल थाङ्का थियो। तिब्बती भाषामा ‘मेन’ले चिकित्सा र ‘थाङ’ले थाङ्का चित्रलाई जनाउँछ। मेडिकल थाङ्कालाई तिब्बती चिकित्साको दृश्यात्मक पाठ्यपुस्तकका रूपमा लिइन्छ। यसको परम्परागत पूर्ण श्रृंखलामा ८० चित्र रहेका छन्, जसमा आधारभूत चिकित्सा सिद्धान्तदेखि शरीर विज्ञान, रोग निदान, उपचार प्रविधि, रोग रोकथाम, औषधीय वनस्पति, औषधि निर्माण र चिकित्सकीय आचारसम्मका विषय दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।
सिचाङ स्वायत्त क्षेत्रको तिब्बती अस्पतालका प्रमुख छिरिङका अनुसार सन् २०२३ मै १७औँदेखि २०औँ शताब्दीसम्मका तिब्बती मेडिकल थाङ्काहरू चीनको अभिलेखीय सम्पदा सूचीमा समावेश भएका थिए। मेडिकल थाङ्काको अन्तर्राष्ट्रिय अध्ययन बढ्दै गए पनि विश्वका विभिन्न भाषामा उपलब्ध गुणस्तरीय अनुवाद अझै सीमित रहेको सम्मेलनमा बताइएको छ।
गत वर्ष सेप्टेम्बरदेखि मेडिकल थाङ्काको अनुवाद कार्यमा संलग्न बेलायती विद्वान मेरी क्यारोलिन वायटले यसको अनुवाद सामान्य पाठकका लागि मात्र नभई तिब्बती चिकित्सा अध्ययन गर्ने विशेषज्ञका लागि उपयोगी हुने गरी तयार गर्नुपर्ने बताइन्। त्यसका लागि आधुनिक भाषिक सरलतासँगै परम्परागत चिकित्सा अवधारणा र विशिष्ट प्राविधिक शब्दावलीलाई जोगाउनु आवश्यक रहेको उनको भनाइ थियो।
भियना मेडिकल विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ता क्याथरिन अन्ना साबर्निगले करिब ३० वर्षअघि पहिलो पटक तिब्बती चिकित्सासम्बन्धी चित्रात्मक सामग्री देखेपछि यस क्षेत्रमा अनुसन्धान शुरु गरेको अनुभव सुनाइन्। त्यसपछि सिचाङ पुगेर मेडिकल थाङ्काको अध्ययन थालेको उल्लेख गर्दै उनले चिकित्सा ज्ञानलाई चित्रमार्फत प्रस्तुत गर्ने यो परम्परा अन्तर्राष्ट्रिय चिकित्सा इतिहास, दृश्य संस्कृति र ज्ञान हस्तान्तरणको अध्ययनका लागि महत्वपूर्ण रहेको बताइन्।
सम्मेलनकै अवसरमा तिब्बती चिकित्सा ‘मेनथाङ अनुसन्धान केन्द्र’ औपचारिक रूपमा स्थापना गरिएको छ। केन्द्रले मेडिकल थाङ्काको इतिहास, चिकित्सा चित्रविज्ञान, ग्रन्थीय आधार, संरक्षण, डिजिटल अभिलेखीकरण, अनुवाद र अन्तर्राष्ट्रिय अध्ययनलाई व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
सिचाङ स्वायत्त क्षेत्र स्वास्थ्य आयोगकी प्रमुख काल्साङ युड्रोनले परम्परागत चिकित्सा सेवा अहिले विश्वका १५० भन्दा बढी देश तथा क्षेत्रमा कुनै न कुनै रूपमा फैलिएको उल्लेख गर्दै तिब्बती चिकित्साले नेपाललगायत विभिन्न देशमा निरन्तर मान्यता र अध्ययनको अवसर प्राप्त गरिरहेको बताइन्। उनका अनुसार तिब्बती चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ सञ्जालले यसको सांस्कृतिक सम्पदा संरक्षणसँगै आधुनिक रूपान्तरण र विश्वव्यापी शैक्षिक आदानप्रदानलाई पनि अगाडि बढाउनेछ।
तिब्बती चिकित्सा क्षेत्रको मानकीकरणतर्फ पनि काम भइरहेको छ। सिचाङको तिब्बती अस्पतालले तयार गर्न सहयोग गरेको ‘तिब्बती चिकित्सा रोग वर्गीकरण तथा कोड’ सम्बन्धी राष्ट्रिय मापदण्ड यस वर्ष अप्रिलदेखि कार्यान्वयनमा आएको जनाइएको छ। यसलाई चीनमा जातीय परम्परागत चिकित्साको रोग वर्गीकरण र कोडसम्बन्धी पहिलो राष्ट्रिय मापदण्डका रूपमा प्रस्तुत गरिएको छ।
पछिल्ला वर्षहरूमा सिचाङमा तिब्बती चिकित्साको संरक्षण, शिक्षण, चिकित्सकीय अनुसन्धान र संस्थागत विकासलाई विस्तार गरिएको छ। तिब्बती चिकित्सा सम्बन्धी राष्ट्रिय चिकित्सा केन्द्र, क्लिनिकल अनुसन्धान आधार, विभिन्न प्रमुख विशेषज्ञ विभाग तथा अनुसन्धान संरचना विकास गरिएको र तीन तिब्बती चिकित्सकले चीनको उच्चस्तरीय ‘राष्ट्रिय चिकित्सा गुरु’ सम्मान प्राप्त गरिसकेको बताइएको छ।
सम्मेलनले तिब्बती चिकित्सालाई केवल ऐतिहासिक सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नेभन्दा पनि प्राचीन ग्रन्थ, चिकित्सा चित्र, चिकित्सकीय अभ्यास र आधुनिक अनुसन्धानबीच सम्बन्ध स्थापित गर्दै अन्तर्राष्ट्रिय शैक्षिक संवादमा लैजानुपर्नेमा जोड दिएको छ। हजारौँ वर्षको ज्ञान परम्परालाई आधुनिक अनुसन्धान, मानकीकरण र अन्तर्राष्ट्रिय आदानप्रदानसँग जोडेर सिचाङको उच्चभूमिबाट विश्वसम्म पुर्याउने प्रयास अहिले तिब्बती चिकित्सा विकासको नयाँ चरणका रूपमा अघि बढिरहेको छ।





