प्रतापपुर गाउँपालिका अध्यक्ष यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

ड्रागन मिडिया सम्वाददाता
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव सरकारी छाप तथा लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको आरोपसम्बन्धी अनुसन्धानका क्रममा सोमबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका छन्।
पक्राउ पुर्जी जारी भएपछि केही समयदेखि प्रहरीको खोजी सूचीमा रहेका यादव सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा आफैँ उपस्थित भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोम ढकालका अनुसार यादवलाई अनुसन्धानका लागि हिरासतमा राखी आवश्यक म्याद थपको प्रक्रिया अघि बढाइएको छ।
नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा प्रतापपुर गाउँपालिका अध्यक्ष निर्वाचित यादवविरुद्ध पोखरी निर्माणका क्रममा सरकारी छाप तथा लेटरप्याड प्रयोग गरी कागजात कीर्ते गरेको आरोपमा जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
यादवविरुद्ध गत साउन २० गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जीविरुद्ध उनी उच्च अदालत पुगेका थिए। अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन बाटो खुला गरेपछि उनी प्रहरीसमक्ष उपस्थित भएका हुन्।
प्रहरीले घटनासँग सम्बन्धित कागजात, सरकारी छाप तथा अन्य प्रमाणको परीक्षण गर्दै थप अनुसन्धान अघि बढाउने जनाएको छ। आरोपको अन्तिम टुंगो भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट लाग्नेछ।





