१७ भाद्र २०८३, बुधबार

बडीमालिकामा फोर–जी सेवा सञ्चालन, चार हजार २३० मिटर उचाइमा टावर स्थापना

ड्रागन मिडिया सम्वाददाता

धार्मिक तथा पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोर–जी मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। समुद्र सतहबाट चार हजार मिटरभन्दा बढी उचाइमा रहेको क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तार भएपछि तीर्थयात्री, पर्यटक, स्थानीयवासी तथा सरकारी र गैरसरकारी निकाय लाभान्वित हुने भएका छन्।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै भौगोलिक विकटताका कारण कुनै पनि नागरिक सञ्चारको आधारभूत सुविधाबाट वञ्चित हुन नहुने बताए। उनले दुर्गम तथा पर्यटकीय क्षेत्रमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

सेवा सञ्चालनपछि मन्त्री तिमिल्सिनाले बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरी टावर निर्माण र सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएका थिए।

बडीमालिका मन्दिर क्षेत्र समुद्र सतहबाट करिब चार हजार २०० मिटरको उचाइमा रहेको छ। नेपाल टेलिकमका अनुसार फोर–जी टावर भने करिब चार हजार २३० मिटर उचाइमा रहेको लौरी विनायक क्षेत्रमा स्थापना गरिएको छ।

सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री पुर्‍याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आवश्यक सामग्री बडीमालिका क्षेत्रमा ढुवानी गरिएको थियो। मन्त्री तिमिल्सिनाले कठिन भौगोलिक अवस्थामा सेवा विस्तारमा खटिएका नेपाल टेलिकमका कर्मचारी, सामग्री ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय र सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका प्राविधिक टोलीले टावर स्थापना गरेको हो। सहायक प्राविधिक अधिकृत माधव बुढाथोकी, इञ्जिनियर सुदर्शन आचार्य र सिभिल इञ्जिनियर दीपकराज भट्टलगायतको टोली निर्माण तथा सेवा सञ्चालनमा खटिएको थियो।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले व्यावसायिक लाभलाई मात्र आधार बनाएर नभई सञ्चार पहुँच कमजोर रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्नु टेलिकमको महत्वपूर्ण जिम्मेवारी रहेको बताइन्।

बडीमालिकामा स्थायी बस्तीको संख्या कम भए पनि धार्मिक पर्यटन, पदयात्रा तथा तीर्थाटनका दृष्टिले क्षेत्र महत्वपूर्ण मानिन्छ। नयाँ सेवाबाट बडीमालिका मन्दिर, आसपासका पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रमा पुग्ने तीर्थयात्री र पर्यटकलाई मोबाइल तथा इन्टरनेट प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

मन्त्री तिमिल्सिनाले गत साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल दूरसञ्चार सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका थिए। त्यसपछि टावर निर्माण र फोर–जी सेवा सञ्चालनको प्रक्रिया तीव्र बनाइएको थियो।

यसअघि जुम्लाको हाट सिँजा क्षेत्रअन्तर्गत कनकासुन्दरी गाउँपालिकाको गुठीज्युला बजारमा पनि भदौ ५ गतेदेखि नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ। डोल्पाको ल्हान र दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलामा समेत फोर–जी सेवा विस्तार भइसकेको छ।

सगरमाथा आधार शिविरमा फोर–जी सेवा विस्तारका लागि पनि अध्ययन भइरहेको जनाइएको छ।

सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउँदै दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रसम्म फोर–जी पहुँच विस्तार गर्ने योजना बनाएको छ। नेपाल टेलिकमका अनुसार देशभर करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button