१७ भाद्र २०८३, बुधबार

लहानको सार्वजनिक जग्गामा बनेका सात संरचना भत्काइयो, स्थानीयले लगाए पक्षपातको आरोप

ड्रागन मिडिया सम्वाददाता

सिराहाको लहानस्थित नयाँबजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका सात वटा घर तथा टहरा लहान नगरपालिकाले डोजर प्रयोग गरी भत्काएको छ।

नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि संरचना नहटाइएको भन्दै आइतबार डोजर चलाएको हो। लहान–५ स्थित लहान बजारको गुदरी हटिया क्षेत्रमा नेपाल खानेपानी संस्थान लहानको प्रवेशद्वारदेखि पूर्वतर्फ हनुमान मन्दिरसम्मको सार्वजनिक जग्गामा बनेका घर तथा टहरा हटाउने प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ।

यसअघि उक्त क्षेत्रमा बसोबास गर्ने तथा पसल सञ्चालन गर्ने व्यक्तिलाई तीन दिनभित्र स्थान खाली गर्न सूचना जारी गरिएको थियो। तोकिएको समयभित्र संरचना नहटाइएपछि नगरपालिकाले पहिलो चरणमा सात वटा संरचना भत्काएको हो।

नगरपालिकाको कदमप्रति केही स्थानीय तथा व्यापारीले भने असन्तुष्टि जनाएका छन्। सो क्षेत्रमा ठूलो संख्यामा संरचना रहे पनि सात वटामा मात्र डोजर चलाइएको भन्दै उनीहरूले नगर नेतृत्वमाथि पक्षपात गरेको आरोप लगाएका छन्।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले भने कसैलाई संरक्षण वा पक्षपात नगरिएको दाबी गरेका छन्। सार्वजनिक जग्गामा बनेका अन्य संरचना पनि क्रमशः हटाइने र प्रक्रिया निरन्तर अघि बढ्ने उनको भनाइ छ।

नगर प्रमुख चौधरीका अनुसार नगरपालिकाको करिब दुई बिघा जग्गामा तीन वटा भवन निर्माण गरी ७२ वटा कोठा तयार गरिएको छ। ती कोठा भाडामा उपलब्ध गराई नयाँबजार क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीलाई व्यवस्थित गर्ने योजना रहेको उनले बताएका छन्।

घर तथा टहरा भत्काइएका व्यापारीले भने कारवाहीका क्रममा आफ्ना सामान तथा सम्पत्तिमा क्षति पुगेको दाबी गर्दै उचित मूल्यांकन र क्षतिपूर्तिको माग गरेका छन्।

नगरपालिकाले सार्वजनिक जग्गाको संरक्षणसँगै बजार व्यवस्थापन गर्ने उद्देश्यले अतिक्रमण हटाउने अभियान अघि बढाएको जनाएको छ। स्थानीयले उठाएको पक्षपातसम्बन्धी आरोपबारे भने नगरपालिकाले सबै संरचनामाथि चरणबद्ध रूपमा समान प्रक्रिया लागू गरिने स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button