पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना

ड्रागन मिडिया सम्वाददाता
फ्लूका कारण ज्वरो आएपछि ९९ वर्षीया पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएकी छन्।
अस्पताल प्रशासनका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ र कुनै जटिल समस्या देखिएको छैन। अस्पतालका वरिष्ठ फिजिसियनहरूको टोलीले उनको स्वास्थ्य अवस्था नियमित निगरानी गरिरहेको छ।
अस्पतालका प्रशासन प्रमुख विमल बोगटीका अनुसार शाह आइतबार साँझ अस्पताल भर्ना भएकी हुन्। चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको र स्वास्थ्यमा सुधार देखिएकाले बुधबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको उनले बताए।
चिकित्सकहरूले हाल उनको ज्वरो तथा फ्लूसँग सम्बन्धित लक्षणको उपचार र स्वास्थ्य अवस्थाको नियमित परीक्षण गरिरहेका छन्।





