लगानी बोर्डको सीईओ उक्याबले सम्हालिन् पदभार, ठूला लगानी परियोजना अघि बढाउने जिम्मेवारी

ड्रागन मिडिया सम्वाददाता
लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त याङ्की उक्याबले सोमबार पदभार सम्हालेकी छन्। सरकारले उनलाई नियुक्त गरेको १९ दिनपछि उनले औपचारिक रूपमा बोर्डको नेतृत्व सम्हालेकी हुन्।
मन्त्रिपरिषद्को गत साउन २० गतेको बैठकले उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो। बोर्डका अनुसार पदभार ग्रहण गरेपछि उनलाई लगानी बोर्डका गतिविधि, सञ्चालनमा रहेका ठूला परियोजना तथा आगामी प्राथमिकताबारे ब्रिफिङ गरिएको छ।
सरकारले उक्याबलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। उनले यसअघि पनि लगानी बोर्डमा करिब चार वर्ष लगानीसम्बन्धी परियोजनामा काम गरेकी थिइन्।
बोर्डमा रहँदा उनले विशेषगरी माथिल्लो कर्णाली जलविद्युत आयोजना र अरुण तेस्रो जलविद्युत आयोजनालगायत ठूला परियोजनाको लगानी संरचना तथा सहजीकरणसम्बन्धी काममा भूमिका निर्वाह गरेकी थिइन्।
विकास अर्थशास्त्री उक्याब सार्वजनिक नीति, विकास वित्त, रणनीतिक साझेदारी तथा आर्थिक नीति क्षेत्रमा अनुभव प्राप्त अधिकारी हुन्। काठमाडौंकी स्थायी बासिन्दा उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी छन्।
लगानी बोर्डले नेपालमा ठूला पूर्वाधार तथा ऊर्जा परियोजनामा स्वदेशी र विदेशी लगानी परिचालन, परियोजना विकास, लगानीकर्तासँग समन्वय तथा लगानी सहजीकरणको जिम्मेवारी निर्वाह गर्दै आएको छ।
उक्याबको नेतृत्वमा लगानी बोर्डले निर्माण तथा विकासका विभिन्न चरणमा रहेका ठूला परियोजनालाई अघि बढाउने, लगानी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्ने र नयाँ रणनीतिक लगानी आकर्षित गर्ने चुनौती सामना गर्नेछ।





