१७ भाद्र २०८३, बुधबार

इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकी दोस्रो प्रतिबन्धको चेतावनी, चीनले भन्यो: दबाब समाधान होइन

ड्रागन मिडिया समाचार कक्ष

इरानसँग व्यापार गर्ने देशहरूमाथि अमेरिकाले दोस्रो चरणका आर्थिक प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएपछि चीनले प्रतिबन्ध र दबाबबाट समस्या समाधान नहुने भन्दै राजनीतिक तथा कूटनीतिक समाधानमा फर्कन आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन च्येनले सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग व्यापार गर्ने देशहरूमाथि ‘सेकेन्डरी स्याङ्सन्स’ अर्थात दोस्रो प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको विषयमा चीनको धारणा सार्वजनिक गरेका हुन्।

लिनले प्रतिबन्ध र दबाबले सम्बन्धित समस्या समाधान गर्नुको सट्टा तनाव बढाउने, परिस्थितिलाई थप जटिल बनाउने र अन्ततः कुनै पनि पक्षको हित नगर्ने बताए।

“प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न सक्दैन। त्यसले तनाव बढाउने र परिस्थितिलाई थप चर्काउने मात्र गर्छ,” लिनले भने।

उनले सम्बन्धित सबै पक्षलाई विवेक र संयम अपनाउन, द्वन्द्व थप चर्काउने कदमबाट बच्न तथा विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय वित्तीय स्थिरतामा नकारात्मक असर पर्ने गतिविधि नगर्न आग्रह गरे।

चीनले विवादलाई संवाद र वार्तामार्फत राजनीतिक समाधानतर्फ लैजानुपर्नेमा जोड दिएको छ। सम्भव भएसम्म चाँडो वार्ताको सही मार्गमा फर्कनु सबै पक्षको साझा हितमा हुने बेइजिङको धारणा छ।

अमेरिकी अर्थमन्त्री बेसेन्टले वासिङ्टनले इरानमाथिको आर्थिक दबाब थप कडा बनाउन सक्ने र इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने तेस्रो देश तथा संस्थासमेत अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने संकेत दिएका छन्। यस्तो व्यवस्था लागू भएमा अमेरिकी प्रतिबन्धको प्रत्यक्ष लक्ष्य इरानमा मात्र सीमित नरही ऊसँग कारोबार गर्ने विदेशी कम्पनी, वित्तीय संस्था वा अन्य आर्थिक पक्षसम्म विस्तार हुन सक्छ।

यस्तो सम्भावनाले विशेषगरी इरानसँग ऊर्जा तथा अन्य क्षेत्रमा व्यापारिक सम्बन्ध भएका मुलुकमाथि दबाब बढाउन सक्ने देखिएको छ।

चीनले लामो समयदेखि एकपक्षीय प्रतिबन्ध तथा अमेरिकी अधिकार क्षेत्रभन्दा बाहिर लागू गरिने आर्थिक प्रतिबन्धको विरोध गर्दै आएको छ। बेइजिङले आफ्नो वैधानिक अन्तर्राष्ट्रिय व्यापार र आर्थिक हितलाई कुनै तेस्रो देशको एकपक्षीय निर्णयबाट प्रभावित पार्न नहुने धारणा राख्दै आएको छ।

प्रवक्ता लिनले पछिल्लो अमेरिकी चेतावनीबारे चीनले परिस्थितिको नजिकबाट अनुगमन गर्ने बताए।

“चीनले सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियाल्नेछ र आफ्ना वैध अधिकार तथा हितको रक्षा गर्न आवश्यक कदम चाल्नेछ,” उनले भने।

चीनको पछिल्लो प्रतिक्रियाले इरानमाथि अमेरिकी आर्थिक दबाब थप कडा भए त्यसको प्रभाव वासिङ्टन–तेहरान सम्बन्धमा मात्र सीमित नरही चीनसहित इरानसँग व्यापार गर्ने अन्य मुलुकसम्म फैलिन सक्ने संकेत गरेको छ।

बेइजिङले भने बढ्दो तनावलाई आर्थिक दण्ड र दोस्रो प्रतिबन्धबाट होइन, कूटनीतिक संवाद, संयम र राजनीतिक सम्झौतामार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button