लियाओनिङमा भीषण वर्षा, करिब १२ हजार ७०० मानिस सुरक्षित स्थानमा सारिए

ड्रागन मिडिया समाचार कक्ष
चीनको उत्तरपूर्वी लियाओनिङ प्रान्तमा आइतबारदेखि परेको भीषण वर्षाका कारण सोमबार बिहानसम्म करिब १२ हजार ७०० मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन्।
आइतबार बिहान ८ बजेदेखि सोमबार बिहान ११ बजेसम्म लियाओनिङको दक्षिणपूर्वी क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएको छ। केही स्थानमा मुसलधारे वर्षा भएको छ भने प्रान्तको उत्तरी र पश्चिमी भागमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षा भएको जनाइएको छ।
लियाओनिङका विभिन्न क्षेत्रमा अति भारी वर्षाको ‘रेड अलर्ट’ कायम छ। सोमबार बिहान ६ बजेसम्म नौ वटा शहरले बाढीसम्बन्धी आपतकालीन प्रतिकार्य सक्रिय गरिसकेको प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले जनाएको छ।
प्रान्तीय आपतकालीन व्यवस्थापन विभागले डालियान, आनशान र दानदोङसहित आठ शहरमा ३ हजार ६११ उद्धार तथा आपतकालीन टोलीका १ लाख २७ हजारभन्दा बढी जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
दानदोङमा मात्रै सोमबार बिहान ६ बजेसम्म ८ हजार ७८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
दानदोङ मौसम विज्ञान वेधशालाले सोमबार बिहान ११ बजेर ३३ मिनेटमा अति भारी वर्षाको रेड अलर्ट जारी गरेको थियो। वेधशालाका अनुसार त्यसअघिका ११ घण्टामा शहर क्षेत्रमा १६० देखि २४० मिलिमिटरसम्म वर्षा भएको थियो।
आगामी ६ देखि ८ घण्टामा थप १०० देखि १३० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। प्रतिघण्टा अधिकतम वर्षा ७० मिलिमिटरसम्म पुग्न सक्ने र वर्षा प्रणाली समाप्त हुँदासम्म कुल वर्षा ३५० मिलिमिटरभन्दा बढी हुन सक्ने चेतावनी दिइएको छ।
चीनको मौसम चेतावनी प्रणाली चार तहको छ। त्यसमा रातो सबैभन्दा गम्भीर चेतावनी हो भने त्यसपछि क्रमशः सुन्तला, पहेँलो र नीलो तह रहेका छन्।
लगातारको भारी वर्षाका कारण बाढी, डुबान, पहिरो तथा अन्य मौसमजन्य जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका स्थानीय निकाय र आपतकालीन संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।





