युक्रेनको हवाई रक्षा सुदृढ गर्न युरोपेली सहयोगी सक्रिय

ड्रागन मिडिया समाचार कक्ष
रुसी क्षेप्यास्त्र आक्रमण तीव्र बन्दै गएको अवस्थामा युक्रेनको हवाई रक्षा क्षमता सुदृढ गर्न बेलायत, फ्रान्स र जर्मनीसहित प्रमुख युरोपेली राष्ट्रहरूले सैन्य सहयोग बढाउने प्रतिबद्धता जनाएका छन्।
युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार किएभमा प्रत्यक्ष तथा श्रव्यदृश्य माध्यमबाट आयोजित ‘कोएलिसन अफ द विलिङ’ बैठकमा बेलायती प्रधानमन्त्री एन्डी बर्नह्याम, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगै बैठकको अध्यक्षता गरेका थिए। युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टासहित विभिन्न युरोपेली नेताहरू बैठकमा सहभागी भएका थिए।
बैठकले युक्रेनका लागि हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र आपूर्तिलाई तत्काल प्राथमिकता दिने, युक्रेनी रक्षा उद्योगसँग सहकार्य बढाउने तथा रुसमाथिको आर्थिक दबाब थप कडा बनाउने प्रतिबद्धता जनाएको छ। आगामी जाडोअघि युक्रेनको ऊर्जा पूर्वाधारको सुरक्षा र मर्मतमा सहयोग बढाउने विषयमा पनि सहमति भएको छ।
बेलायतले युक्रेनको दीर्घ दूरीको क्षेप्यास्त्र उत्पादन क्षमता विकास गर्न महत्वपूर्ण प्रविधिगत सहयोग गर्ने भएको छ। बेलायती सरकारले रक्षा कम्पनी एमबीडीएलाई एससीएएलपी दीर्घ दूरीको क्षेप्यास्त्रमा प्रयोग हुने बेलायती उपकरणसम्बन्धी वर्गीकृत प्राविधिक जानकारी फ्रान्स र युक्रेनलाई उपलब्ध गराउन अनुमति दिएको छ। यसले युक्रेनभित्रै ती क्षेप्यास्त्रको संयोजन तथा उत्पादन क्षमता विकास गर्ने बाटो खोल्ने अपेक्षा गरिएको छ।
मस्कोले भने बेलायतको निर्णयको कडा आलोचना गरेको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले यस्तो सहयोगले युद्धमा ‘आगोमा घिउ थप्ने’ काम गर्ने बताएका छन्। रुसले युक्रेनमा स्थापना हुने दीर्घ दूरीका क्षेप्यास्त्र उत्पादन केन्द्रलाई सम्भावित सैन्य लक्ष्यका रूपमा हेर्ने चेतावनीसमेत दिएको छ।
युक्रेनले पछिल्लो समय अमेरिकी प्याट्रियट प्रणालीमा प्रयोग हुने अवरोधक क्षेप्यास्त्रको गम्भीर अभाव सामना गरिरहेको जनाएको छ। जेलेन्स्कीका अनुसार सन् २०२३ मा युक्रेनले ६७५ वटा प्याट्रियट अवरोधक प्राप्त गरेकोमा सन् २०२५ मा संख्या ३६४ मा झरेको थियो। सन् २०२६ मा करिब २६४ वटा मात्र प्राप्त हुने अनुमान रहेको उनले बताएका छन्। आगामी जाडोको सुरक्षा सुनिश्चित गर्न कम्तीमा थप ३०० अवरोधक आवश्यक रहेको उनको भनाइ छ।
फ्रान्सले पनि हवाई रक्षा उपकरण र क्षेप्यास्त्रको आपूर्ति तीव्र बनाउने प्रतिबद्धता जनाएको छ। राष्ट्रपति म्याक्रोंले रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको सामना गर्न युरोपेली सहयोगीहरूले अवरोधक क्षेप्यास्त्रको आपूर्ति बढाउनुपर्ने बताएका छन्।
रुस र युक्रेनबीच लामो दूरीका आक्रमणसमेत तीव्र भएका छन्। युक्रेनले रुसी तेल प्रशोधन केन्द्र, औद्योगिक संरचना र रसद केन्द्रमाथि मानवरहित विमानबाट आक्रमण बढाएको छ। रुसी अनलाइन व्यापार कम्पनी ओजोनका विभिन्न रसद केन्द्रसमेत पछिल्ला दिनमा निशानामा परेका छन्। रुसी पक्षले यस्ता आक्रमणमा सर्वसाधारणको समेत मृत्यु भएको जनाएको छ।
यसैबीच, रुसले किएभसहित युक्रेनका विभिन्न शहर र पूर्वाधारमाथि ब्यालेस्टिक क्षेप्यास्त्र र मानवरहित विमानमार्फत आक्रमण बढाएको छ। रुसले सैन्य तथा युद्धसँग सम्बन्धित संरचनालाई निशाना बनाएको बताउँदै आएको छ भने युक्रेन र उसका युरोपेली सहयोगीहरूले नागरिक तथा महत्वपूर्ण पूर्वाधारमाथि आक्रमण भएको आरोप लगाएका छन्।
युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहँदा हवाई रक्षा क्षमताको अभाव युक्रेनका लागि प्रमुख सैन्य कमजोरी बनेको छ। अर्कोतर्फ, दीर्घ दूरीका क्षेप्यास्त्रको स्थानीय उत्पादनमा युरोपेली प्रविधि उपलब्ध गराउने कदमले युद्ध केवल हतियार आपूर्तिबाट युक्रेनको आफ्नै रक्षा उत्पादन क्षमता विस्तारतर्फ प्रवेश गरिरहेको संकेत गरेको छ।





