१७ भाद्र २०८३, बुधबार

हात्ती जैविक मार्गले बस्ती जोखिममा पार्न नहुने बाहुनडाँगीबासीको माग

ड्रागन मिडिया सम्वाददाता

जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि प्रभावित झापाको बाहुनडाँगी क्षेत्रका बासिन्दाले मानवबस्ती जोखिममा पर्ने गरी हात्तीको जैविक मार्ग विकास गर्न नहुने बताएका छन्।

बाहुनडाँगीबाट कोसीटप्पुसम्म हात्ती आवतजावत गर्ने क्षेत्रलाई जैविक मार्गका रूपमा विकास गर्ने योजना अघि बढाइएको भन्दै स्थानीयले वन्यजन्तु संरक्षणसँगै मानवबस्ती र नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग माग गरेका हुन्।

तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष निलकण्ठ तिवारीले वन्यजन्तु संरक्षणका नाममा स्थानीय नागरिकको बसोबास नै जोखिममा पार्ने नीति स्वीकार्य नहुने बताए। उनले करिब ४० लाख नागरिक बसोबास गर्ने क्षेत्रलाई हात्ती हिँड्ने मार्गका रूपमा विकास गर्न नहुने धारणा राखे।

स्थानीय रमेश दाहाल र विनोद खनालले जैविक विविधता संरक्षण आवश्यक भए पनि त्यसको भार मानवबस्तीले मात्र बोक्न नहुने बताए। उनीहरूले हात्तीको प्राकृतिक बासस्थान, आहार र आवतजावतको व्यवस्थापन वनक्षेत्रमै प्रभावकारी बनाउँदै मानवबस्तीलाई सुरक्षित राख्ने नीति आवश्यक रहेकोमा जोड दिए।

बाहुनडाँगी क्षेत्र दशकौँदेखि मानव–हात्ती द्वन्द्वबाट प्रभावित छ। भारततर्फबाट आउने जङ्गली हात्तीले खेतबाली नष्ट गर्ने, घरमा क्षति पुर्‍याउने र कतिपय अवस्थामा मानवीय क्षतिसमेत हुने गरेको छ। हात्तीको परम्परागत आवतजावत क्षेत्रमा मानवबस्ती विस्तार, वनक्षेत्रको खण्डीकरण र प्राकृतिक आहारको कमीले द्वन्द्व थप जटिल बनेको स्थानीयको अनुभव छ।

यसअघि हात्तीको प्रवेश नियन्त्रण गर्न सीमा क्षेत्रमा विद्युतीय तारबार, निगरानी, साइरन, स्थानीय दस्ता परिचालन तथा हात्तीमैत्री कृषि जस्ता उपाय अपनाइए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन।

स्थानीयले जैविक मार्गसम्बन्धी कुनै पनि योजना अघि बढाउँदा प्रभावित बस्तीको सुरक्षा, क्षतिपूर्ति, वैकल्पिक जीविकोपार्जन, तारबार तथा निगरानी प्रणाली र स्थानीय समुदायको सहमति अनिवार्य हुनुपर्ने माग गरेका छन्।

उनीहरूले वन्यजन्तु संरक्षण र मानव सुरक्षालाई एकअर्काको विकल्पका रूपमा नभई सहअस्तित्वको आधारमा व्यवस्थापन गर्नुपर्ने भन्दै नागरिकको जीवन, सम्पत्ति र बसोबासको अधिकार सुनिश्चित गरेपछि मात्र दीर्घकालीन संरक्षण योजना अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button