१७ भाद्र २०८३, बुधबार

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्य चिनाउन डिजिटल सूचना पाटी

ड्रागन मिडिया सम्वाददाता

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने भक्तजन तथा पर्यटकलाई गोरखाका अन्य पर्यटकीय गन्तव्यसम्म आकर्षित गर्ने उद्देश्यले मनकामना मन्दिर परिसरमा डिजिटल सूचना पाटी स्थापना गरिएको छ।

गोरखा उद्योग वाणिज्य सङ्घले स्थापना गरेको सूचना पाटीमार्फत गोरखाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रका श्रव्यदृश्य सामग्री प्रदर्शन गरिनेछ।

सङ्घका अध्यक्ष भगवानबाबु मास्केका अनुसार मनकामना मन्दिरमा वार्षिक ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने भएकाले उनीहरूलाई गोरखाका अन्य गन्तव्यबारे जानकारी गराएर जिल्लाभित्रको पर्यटन विस्तार गर्ने उद्देश्य राखिएको छ। तत्कालका लागि गोरखा नगरपालिकाले तयार गरेका श्रव्यदृश्य सामग्री राखिएको र आगामी दिनमा थप सामग्री समावेश गर्दै जाने उनले बताए।

सूचना पाटीमा गोरखा दरबार, गोरखकाली मन्दिर, बज्रभैरव, गोरखा सङ्ग्रहालय, विष्णुपाञ्चायन र रानीपोखरीलगायत गोरखा नगरपालिकाभित्रका पर्यटकीयस्थलका साथै मनास्लु क्षेत्रसहित जिल्लाका अन्य प्रमुख गन्तव्यसम्बन्धी सामग्री राखिएका छन्।

गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगरले सूचना पाटी स्थापनाको शुरुआत उद्योग वाणिज्य सङ्घले गरे पनि यसको सञ्चालन र निरन्तरताका लागि नगरपालिकाले सहयोग गर्ने बताए।

मनकामनामा आउने पर्यटकलाई गोरखाका अन्य गन्तव्यसम्म पुर्‍याउन सके उनीहरूको बसाइ अवधि लम्बिनुका साथै स्थानीय पर्यटन व्यवसाय, होटल, यातायात तथा अन्य सेवामूलक क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button