१७ भाद्र २०८३, बुधबार

संसदका दुवै सदन आज बस्दै, महत्वपूर्ण विधेयक कार्यसूचीमा

ड्रागन मिडिया सम्वाददाता

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक बिहान १० बजेर १५ मिनेटमा बस्ने तय भएको छ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। उनले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछिन्।

कानुनमन्त्री गौतमले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधता संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पनि प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची छ।

त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैबीच, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रियसभाको आधिकारिक सूचनाअनुसार बैठक आज बिहान १० बजेर १५ मिनेटमा बस्ने तय भएको छ। प्रतिनिधिसभाको आजको कार्यसूचीमा कानुन संशोधन, मेलमिलाप, बालश्रम तथा अन्तर्राष्ट्रिय सामुद्रिक जैविक विविधतासम्बन्धी विषय प्रमुख रूपमा समेटिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button