१७ भाद्र २०८३, बुधबार

मधेस प्रदेशद्वारा प्रहरीलाई १२ पिकअप हस्तान्तरण, थप ७० मोटरसाइकल दिने तयारी

ड्रागन मिडिया सम्वाददाता

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १२ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरेको छ।

सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका लागि एक एक, सर्लाहीका लागि थप एक र रौतहटका चन्द्रपुर तथा गरुडा इलाका प्रहरी कार्यालयका लागि एक एक गरी १२ वटा पिकअप हस्तान्तरण गरिएको हो।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेशको शान्ति सुरक्षा र नागरिकको जीउधनको संरक्षण सरकारको प्राथमिकता रहेको बताए। प्रहरीको क्षमता अभिवृद्धि र आवश्यक स्रोतसाधन सुदृढीकरणका लागि प्रदेश सरकारको सहयोग निरन्तर रहने उनको भनाइ छ।

प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रदेश सरकारले उपलब्ध गराएका सवारीसाधन तथा अन्य स्रोतसाधनले शान्तिसुरक्षा कायम गर्न प्रहरीको कार्यक्षमता बढाउन सहयोग पुग्ने बताए।

मन्त्रालयका अनुसार हस्तान्तरण गरिएका १२ वटा पिकअपको कुल लागत मूल्य अभिवृद्धि करसहित चार करोड ६८ लाख ६० हजार रुपैयाँ रहेको छ।

प्रहरीको गस्ती तथा परिचालन थप सहज बनाउन मन्त्रालयले आगामी केही दिनभित्र ७० वटा मोटरसाइकलसमेत हस्तान्तरण गर्ने तयारी गरेको छ।

कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव डा. विन्देश्वरप्रसाद लेखकसहित मन्त्रालय र प्रहरीका अधिकारीहरूको सहभागिता थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button