जुम्लाका तीन पालिकामा फलफूल बगैँचा कार्यक्रम, किसानलाई ५० प्रतिशत अनुदान

ड्रागन मिडिया सम्वाददाता
जुम्लाका आठ स्थानीय तहमध्ये हिमाली, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा चालु आर्थिक वर्षदेखि फलफूल बगैँचा स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाअन्तर्गत जुम्लासहित कर्णालीका नौ जिल्लाका छनोट गरिएका स्थानीय तहमा व्यावसायिक फलफूल खेती विस्तार गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
आयोजनाका प्रादेशिक आयोजना व्यवस्थापक चित्रबहादुर रोकायाका अनुसार रुकुम पश्चिमको बाँफीकोट र सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिका, सल्यानको सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिका तथा जाजरकोटको छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा पनि कार्यक्रम सञ्चालन हुनेछ।
त्यस्तै दैलेखका नारायण, आठबीस र चामुण्डाबिन्द्रासैनी नगरपालिका, कालीकोटको नरहरिनाथ र शुभकालिका गाउँपालिका, मुगुको सोरु र खत्याड, हुम्लाको ताँजाकोट र अदानचुली तथा डोल्पाको मुड्केचुला गाउँपालिकामा फलफूल बगैँचा स्थापना गरिनेछ।
रुकुम पश्चिम, सल्यान, जाजरकोट र दैलेखमा सुन्तला जातका फलफूल, ओखर तथा चुच्चे ओखरलाई प्राथमिकता दिइनेछ। कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भने स्याउ, ओखर, कागजी बदाम र किवीलगायत फलफूल खेती विस्तार गरिने आयोजनाले जनाएको छ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ अनुसार बगैँचा स्थापना गर्न किसान, कृषि समूह, सहकारी तथा कृषि उद्यमीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ।
कार्यक्रममार्फत कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा फलफूल खेतीको क्षेत्रफल विस्तार, व्यावसायिक उत्पादन वृद्धि, किसानको आम्दानीमा सुधार तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।





