१७ भाद्र २०८३, बुधबार

गाई तस्करीको विरोधमा भगवानपुरमा प्रदर्शन, प्रहरीमाथि लाठीचार्जको आरोप

ड्रागन मिडिया सम्वाददाता

सिरहाको भगवानपुरमा गाईको अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएका व्यक्तिलाई कानुनी कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय युवामाथि प्रहरीले लाठीचार्ज गरेको आरोप लागेको छ।

भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई तस्करी भइरहेको भन्दै स्थानीय युवाले केही दिनअघि तीन भारतीय र एक नेपाली नागरिकसहित चार जनालाई नियन्त्रणमा लिएको बताएका छन्। उनीहरूलाई गाईसहित ठाडी भन्सार कार्यालयमा बुझाउन लैजाने क्रममा सुरक्षाकर्मीले आफूहरूमाथि लाठीचार्ज गरेको प्रदर्शनकारीको आरोप छ।

प्रदर्शनकारीका अनुसार भन्सार कार्यालयमा मुद्दा प्रक्रिया अघि बढेपछि नियन्त्रणमा रहेका व्यक्ति र गाई छुट्न सक्ने जानकारी पाएपछि स्थानीयले असन्तुष्टि जनाएका थिए। त्यसक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीले बल प्रयोग गरेको उनीहरूको दाबी छ।

घटनाको विरोधमा स्थानीय युवाले भगवानपुर चोकमा प्रदर्शन गर्दै गाईको अवैध ओसारपसार नियन्त्रण गर्न, संलग्न व्यक्तिमाथि कानुनी कारवाही गर्न र लाठीचार्जको छानबिन गर्न माग गरेका छन्। प्रदर्शनका कारण केही समय हुलाकी सडकको यातायातसमेत प्रभावित भएको थियो।

प्रदर्शनकारी अरुण यादवले सीमा क्षेत्रबाट भइरहेको भनिएको गाई ओसारपसारबारे पटक पटक प्रहरीलाई जानकारी गराए पनि प्रभावकारी नियन्त्रण नभएको बताए। उनका अनुसार कानुनी कारवाहीका लागि गाई बुझाउन जाँदा उल्टै स्थानीयमाथि बल प्रयोग भएपछि विरोधमा उत्रिनुपरेको हो।

अर्का प्रदर्शनकारी अजय यादवले नियन्त्रणमा लिइएका गाईको वास्तविक मालिक पहिचान गरी सार्वजनिक गर्न र ओसारपसारमा संलग्न भएको आरोप लागेका व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरे।

यसअघि शनिबार पनि हिन्दु युवा समूहले गाईको अवैध ओसारपसार रोक्न माग गर्दै हुलाकी सडकमा प्रदर्शन गरेको थियो। त्यसबेला स्थानीय प्रहरी अधिकारीहरूले आवश्यक अनुसन्धान र कारवाही गर्ने आश्वासन दिएको प्रदर्शनकारीले बताएका छन्।

स्थानीयले सीमा क्षेत्रमा पशुको अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउन र सुरक्षाकर्मीबाट भएको भनिएको बल प्रयोगको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

घटनाबारे सुरक्षाकर्मीको औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button