राप्रपाका बागमती सांसद पदमुक्त भइसकेका छैनन् : ज्ञानेन्द्र शाही

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभाका पार्टी सांसदहरू औपचारिक रूपमा पदमुक्त भइनसकेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले पार्टीले प्रदेशसभा सचिवालयमा कारवाहीका लागि निवेदन बुझाएको मात्र र त्यसकै आधारमा सांसदको पद स्वतः समाप्त नहुने बताएका हुन्।
उनले सम्बन्धित निकायबाट कानुनी प्रक्रिया पूरा गरी औपचारिक घोषणा नभएसम्म सांसदलाई पदमुक्त भएको भन्दै समाचार प्रकाशन गर्नु गलत हुने उल्लेख गरेका छन्।
राप्रपाले यसअघि बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेशसभा सदस्यबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो। त्यसपछि पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पनि पदमुक्त गर्न माग गर्दै प्रदेशसभामा पत्राचार गरिएको छ।
ती पत्रमाथि प्रदेशसभा सचिवालयले कानुनी अध्ययन गरिरहेको छ। उपसभामुख अप्सरा चापागाईंले संविधान, प्रदेशसभा सम्बन्धी कानुन तथा प्रचलित व्यवस्थाको अध्ययन गरी आवश्यक सिफारिस गर्न सचिवालयलाई निर्देशन दिएकी छन्।
शाहीले पार्टीले आफ्ना सदस्यलाई अनुशासनात्मक कारवाही गर्न सक्ने भए पनि कारवाहीको निर्णय वा पत्र बुझाउँदैमा प्रदेशसभा सदस्यको पद स्वतः रिक्त नहुने बताएका छन्।
उनले प्रत्यक्ष निर्वाचित सांसदको पद जनमतसँग जोडिएको उल्लेख गर्दै भावनाभन्दा तथ्य र कानुनी प्रक्रियाका आधारमा सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।
विद्यमान संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार पनि राजनीतिक दलले पार्टी सदस्यबाट निष्कासन गरेको आधारमा मात्र प्रदेशसभा सदस्यको पद स्वतः रिक्त हुने स्पष्ट व्यवस्था छैन। बागमती प्रदेशसभा सचिवालयका कानुनी अधिकारीहरूले समेत पार्टीको पत्र प्राप्त हुनु र प्रदेशसभा सदस्यको पद रिक्त हुनु फरक कानुनी प्रक्रिया भएको बताएका छन्।
यसअघि केही सञ्चारमाध्यममा राप्रपाका सांसदहरू पदमुक्त भइसकेको आशयका समाचार प्रकाशित भएपछि शाहीले त्यसप्रति आपत्ति जनाएका हुन्।





