मधेसमा एक वर्षमा १,९३८ उद्योग व्यवसायको लगत कट्टा, ५,०६८ नयाँ उद्योग दर्ता

ड्रागन मिडिया सम्वाददाता
मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्यतर्फ एक हजार ९३८ उद्योग व्यवसायको लगत कट्टा भएको छ। सोही अवधिमा पाँच हजार ६८ नयाँ उद्योग दर्ता भएका छन्।
प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार लगत कट्टा भएकामध्ये उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ एक हजार ११७ व्यवसाय छन्। आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित कर्जा प्रवाह नहुनु, पुँजी अभाव तथा स्थानीय तहमै उद्योग व्यवसाय दर्ता गर्ने क्रम बढ्नु लगत कट्टा बढ्नुका प्रमुख कारण रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार नयाँ उद्योग दर्तामा पर्सा सबैभन्दा अगाडि छ। गत आर्थिक वर्ष पर्सामा एक हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ नयाँ उद्योग दर्ता भएका छन्।
सोही अवधिमा सात हजार ५४० उद्योग नवीकरण भएका छन्। वाणिज्यतर्फ छ हजार १२२ निजी फर्म र १८ साझेदारी फर्म नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ फर्मको नवीकरण गरिएको छ।
नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायत विभिन्न शीर्षकबाट प्रदेश सरकारले पाँच करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
एकातिर उल्लेख्य सङ्ख्यामा उद्योग व्यवसायको लगत कट्टा भइरहँदा अर्कोतर्फ पाँच हजारभन्दा बढी नयाँ उद्योग दर्ता हुनुले मधेसको व्यावसायिक क्षेत्रमा बन्द हुने र नयाँ उद्यम शुरु हुने प्रक्रिया समानान्तर रूपमा चलिरहेको देखाएको छ। मन्त्रालयले कमजोर कर्जा प्रवाह र पुँजी अभावलाई उद्योग व्यवसाय टिकाइराख्ने प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।





