१७ भाद्र २०८३, बुधबार

प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा रास्वपाका सातमध्ये तीन सांसद मात्रै

ड्रागन मिडिया सम्वाददाता

प्रतिनिधिसभामा झण्डै दुईतिहाइ बहुमत रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका लागि प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा सातवटा प्रश्न सोध्ने अवसर छुट्याइए पनि तीन सांसदले मात्रै प्रश्न दर्ता गराएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार हुने प्रत्यक्ष प्रश्नोत्तरका लागि सभामुख डोलप्रसाद अर्यालले भदौ ५ गतेसम्म प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीसमक्ष प्रश्न दर्ता गराउन समय दिएका थिए। तोकिएको अवधिमा अधिकतम १५ प्रश्न दर्ता हुन सक्नेमा ११ सांसदले मात्रै प्रश्न बुझाएका छन्।

प्रतिनिधिसभामा २७५ मध्ये १८२ सांसद रहेको रास्वपाका लागि दलीय उपस्थितिका आधारमा सात प्रश्न छुट्याइएको थियो। तर रास्वपाबाट अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकीले मात्रै प्रश्न दर्ता गराएका छन्। यससँगै सत्तारूढ दलका लागि छुट्याइएका चार अवसर प्रयोग हुन सकेनन्।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दललाई कम्तीमा एउटा प्रश्न सोध्ने अवसर दिएर बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा बाँडफाँट गरिएको थियो। त्यसअनुसार नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र गीता गुरुङ, नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र गणेश सिंह ठगुन्ना तथा नेपाली कम्युनिष्ट पार्टीबाट प्रमेशकुमार हमाल र वर्षमान पुनले प्रश्न दर्ता गराएका छन्।

त्यस्तै श्रम संस्कृति पार्टीका हर्कराज राई र राप्रपाकी खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भएका छन्। अन्य दलले आफ्नो भागमा परेको अवसर प्रयोग गर्दा रास्वपाका चार प्रश्न खाली रहनुलाई सत्तारूढ दलभित्र प्रधानमन्त्रीसँगको औपचारिक प्रश्नोत्तरप्रति देखिएको न्यून सहभागिताका रूपमा हेरिएको छ।

रास्वपाका सांसदले बाँकी चार प्रश्न किन दर्ता गरेनन् भन्नेबारे पार्टीले औपचारिक कारण सार्वजनिक गरेको छैन।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर संसदमार्फत सरकारलाई जवाफदेही बनाउने प्रमुख संसदीय अभ्यासमध्ये एक हो। झण्डै दुईतिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको दलकै सांसदले उपलब्ध सबै अवसर प्रयोग नगर्नुले सत्तारूढ दलभित्र संसदीय निगरानी र सरकारसँगको सार्वजनिक प्रश्नोत्तरको अभ्यासबारे प्रश्न उठाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button