१७ भाद्र २०८३, बुधबार

भदौ २३ र २४ मा आन्दोलन हुने सूचना भ्रामक : रक्षा बम

ड्रागन मिडिया सम्वाददाता

जेन्जी अभियन्ता तथा नेपाल जेन्जी फ्रन्टकी संयोजक रक्षा बमले आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः आन्दोलन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको सूचना असत्य र भ्रामक रहेको स्पष्ट पारेकी छन्।

आफ्नो नाम र तस्बिरसमेत प्रयोग गरेर आन्दोलन आह्वान गरिएकोजस्तो देखिने सामग्री फैलाइएको भन्दै बमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। उनले प्रस्तावित भनिएको आन्दोलनसँग आफ्नो वा नेपाल जेन्जी फ्रन्टको कुनै सम्बन्ध नरहेको बताएकी छन्।

गत वर्ष भदौ २३ र २४ गते भएका घटनाको स्मरण गर्दै बमले ती दिनको मानवीय पीडा र क्षति अझै ताजा रहेको उल्लेख गरेकी छन्। त्यस्तो संवेदनशील घटनासँग जोडेर पुनः आन्दोलनको अफवाह फैलाउनु दुःखद र गैरजिम्मेवार कार्य भएको उनको भनाइ छ।

बमले आफूहरू शान्तिको पक्षमा रहेको र अहिले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारेकी छन्।

उनले संवेदनशील विषयलाई सनसनी वा मजाकको माध्यम नबनाउन, व्यक्तिको नाम तथा तस्बिर दुरुपयोग नगर्न र तथ्य पुष्टि नगरी आन्दोलनसम्बन्धी सूचना नफैलाउन आग्रह गरेकी छन्।

गत वर्ष भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन र त्यसक्रममा भएका हिंसात्मक घटनाले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। त्यसको पहिलो वार्षिकी नजिकिँदै गर्दा सामाजिक सञ्जालमा पुनः आन्दोलन हुने दाबी फैलिन थालेपछि बमले सार्वजनिक रूपमा त्यसको खण्डन गरेकी हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button