थाइल्यान्डले २०२७ मा पर्यटक संख्या होइन, आम्दानी र गुणस्तरलाई प्राथमिकता दिने

ड्रागन मिडिया समाचार कक्ष
थाइल्यान्डले सन् २०२७ को पर्यटन रणनीतिमा पर्यटक संख्या बढाउनेभन्दा पर्यटनबाट हुने आम्दानी, गुणस्तरीय अनुभव र क्षेत्रीय सन्तुलनलाई प्राथमिकता दिने भएको छ।
थाइल्यान्ड पर्यटन प्राधिकरणले सोमबार सार्वजनिक गरेको सन् २०२७ को बजार प्रवर्द्धन योजनाअनुसार पर्यटन आम्दानी सन् २०२६ को तुलनामा कम्तीमा पाँच प्रतिशतले बढाउने लक्ष्य राखिएको छ। साथै प्रमुख र दोस्रो तहका पर्यटकीय शहरमा आगन्तुकको वितरण ६०:४० को अनुपातमा पुर्याउने योजना छ।
‘रूपान्तरणको वर्ष’ नाम दिइएको योजनाले थाई पर्यटनलाई धेरै पर्यटक भित्र्याउने मोडलबाट उच्च मूल्य, अर्थपूर्ण अनुभव र दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमतातर्फ लैजाने लक्ष्य राखेको छ।
थाइल्यान्ड पर्यटन प्राधिकरणकी गभर्नर थापानी कियातफाइबुलले पर्यटन क्षेत्रलाई आगन्तुक संख्याभन्दा गुणस्तर र मूल्यमा केन्द्रित गर्दै स्वास्थ्य, समुदाय, संस्कृति, सिर्जनात्मकता र स्थानीय अनुभवसँग जोडिने बताएकी छन्।
‘अमेजिङ थाइल्यान्ड’ ब्रान्डलाई पनि ‘कम पैसामा बढी सुविधा’ दिने गन्तव्यको छविबाट ‘अर्थपूर्ण यात्रा’तर्फ पुनःस्थापित गर्ने तयारी गरिएको छ। यसअन्तर्गत ‘उपचार नै नयाँ विलासिता हो’ भन्ने अवधारणामार्फत स्वास्थ्य, मानसिक शान्ति, प्रकृति, स्थानीय संस्कृति र जीवनशैलीसँग जोडिएका अनुभवलाई प्रमुख रूपमा प्रवर्द्धन गरिनेछ।
योजनाले थाइल्यान्डलाई एसियाका उच्च मूल्य र अर्थपूर्ण पर्यटन अनुभवका प्रमुख गन्तव्यमध्ये अग्रस्थानमा पुर्याउने लक्ष्य राखेको छ। पर्यटकको पुनःआगमन र गन्तव्यप्रतिको निष्ठाका आधारमा थाइल्यान्डलाई एसियाका शीर्ष गन्तव्यमध्ये स्थापित गर्ने उद्देश्य पनि राखिएको छ।
पर्यटन तथा खेलकुदमन्त्री अथाकोर्न सिरिलाथायाकोर्नले थाइल्यान्डलाई वर्षभरि भ्रमण गर्न सकिने गन्तव्यका रूपमा विकास गर्न सार्वजनिक र निजी क्षेत्रको संयुक्त संयन्त्र बनाइने बताएका छन्। स्वास्थ्य, संस्कृति, खाना, खेलकुद, मनोरञ्जन र सिर्जनात्मक पर्यटनलाई उच्च मूल्यका अनुभवका रूपमा विकास गर्ने योजना रहेको उनले बताए।
थाइल्यान्डले बैंकक, फुकेट र चियाङमाईजस्ता स्थापित गन्तव्यमा मात्र पर्यटक केन्द्रित हुने प्रवृत्ति घटाउँदै दोस्रो तहका शहर र समुदायमा पर्यटन आम्दानी फैलाउने लक्ष्य राखेको छ।
पर्यटक सुरक्षा पनि सन् २०२७ को रणनीतिक प्राथमिकतामा परेको छ। बदलिँदो यात्रा प्रवृत्ति र प्रतिस्पर्धाबीच सुरक्षाप्रतिको विश्वास, सेवाको गुणस्तर र स्थानीय पूर्वाधार सुदृढीकरणलाई पर्यटन क्षेत्रको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमतासँग जोडिएको छ।
थाइल्यान्डको नयाँ रणनीतिले पर्यटन सफलताको मापन अब आगन्तुक संख्या मात्र नभई उनीहरूले कति खर्च गर्छन्, कहाँ पुग्छन्, कस्तो अनुभव लिएर फर्किन्छन् र पुनः भ्रमण गर्छन् कि गर्दैनन् भन्ने आधारमा गर्न खोजेको देखिन्छ।





