१७ भाद्र २०८३, बुधबार

स्वास्थ्य कारण देखाउँदै कालो चस्मामै संसद जाने प्रधानमन्त्री शाह

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाह बुधबार प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्। उनले स्वास्थ्यगत कारणले कालो चस्मा प्रयोग गर्नुपर्ने चिकित्सकीय सिफारिससहित संघीय संसद सचिवालयलाई औपचारिक जानकारी गराएका हुन्।

सभामुख डोलप्रसाद अर्यालले यसअघि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमार्फत संसद बैठकमा कालो चस्मा प्रयोग नगर्न प्रमुख सचेतक तथा सचेतकहरूलाई आग्रह गरेका थिए। स्वास्थ्य कारणले प्रयोग गर्नुपर्ने अवस्थामा चिकित्सकीय प्रतिवेदनसहित कारण खुलाउनुपर्ने व्यवस्था गरिएको थियो।

प्रधानमन्त्री शाहले सोही व्यवस्थाअनुसार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा गरिएको आँखा परीक्षणको प्रतिवेदन संसद सचिवालयमा पठाएका छन्। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्य प्रतिवेदनसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

प्रधानमन्त्री शाहले साउन २२ गते आँखा परीक्षण गराएका थिए। नेत्ररोग विशेषज्ञ सहप्राध्यापक लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणमा उज्यालो प्रकाशमा आँखालाई असहज हुने समस्या रहेको उल्लेख गर्दै आवश्यकताअनुसार कालो चस्मा र आँखामा राख्ने औषधि प्रयोग गर्न सुझाव दिइएको छ।

प्रधानमन्त्री कार्यालयले चिकित्सकीय प्रतिवेदनसहितको पत्र साउन २६ गते नै संसद सचिवालयमा पठाएको थियो।

प्रधानमन्त्री शाह बुधबार अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर संसद सदस्यका प्रश्नको जवाफ दिने कार्यक्रम छ। स्वास्थ्य प्रतिवेदन बुझाएपछि उनी संसदमा कालो चस्मा प्रयोग गर्न पाउने चिकित्सकीय अपवादभित्र परेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button