१७ भाद्र २०८३, बुधबार

कालीगण्डकी कटानले मालढुङ्गाको कालीपुल जोखिममा

ड्रागन मिडिया सम्वाददाता

कालीगण्डकी नदीको तीव्र कटानका कारण पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ। नदी दोहन र बहावको धार परिवर्तनले विशेषगरी पर्वततर्फको भागमा क्षति पुगेपछि पुलको सुरक्षाबारे गम्भीर चिन्ता बढेको छ।

स्थानीयका अनुसार नदीले धार परिवर्तन गरेपछि पुलको पिल्लरनजिकै कटान बढेको हो। प्रभावित भागलाई हाल त्रिपालले ढाकिएको छ। चार वर्षअघि पनि नदीले पुलको जगमा क्षति पुर्‍याएपछि संरक्षणका लागि पर्खाल निर्माण गरिएको थियो। तर पछि आएको बाढीले उक्त पर्खालसमेत बगाएको थियो।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो पुल जोखिममा पर्दा दैनिक आवतजावत गर्ने हजारौँ यात्रु असुरक्षित यात्रामा बाध्य बनेका छन्। नदीको बहाव अझ बढेमा पुलको तल्लो पिल्लरको भाग जगैदेखि बग्न सक्ने जोखिम रहेको स्थानीयको भनाइ छ।

पुलको दीर्घकालीन संरक्षणका लागि सामान्य मर्मत मात्र पर्याप्त नहुने देखिएको छ। प्राविधिक रूपमा नदीको धार व्यवस्थापन वा आवश्यक परे बहावको दिशा परिवर्तनसम्मका उपाय अपनाउनुपर्ने आवश्यकता देखिएको छ। अन्यथा आगामी वर्षायाममा जोखिम थप गम्भीर बन्न सक्ने सरोकारवालाको आशंका छ।

मालढुङ्गाको यो कालीपुल बागलुङ र पर्वत मात्रै होइन, म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालका जिल्लासँगको मुख्य सडक सञ्जालको महत्वपूर्ण सेतु हो। यस मार्गबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने भएकाले पुलमा कुनै पनि क्षति भए त्यसको प्रभाव व्यापक क्षेत्रका यात्रु, ढुवानी र स्थानीय अर्थतन्त्रमा पर्नेछ।

नदी कटानका कारण पुलमात्र होइन, मालढुङ्गा बजार र आसपासका घरसमेत जोखिममा परेका छन्। स्थानीयवासीले समयमै प्रभावकारी संरक्षणको काम नगरे पुलसँगै बस्ती र बजार क्षेत्रसमेत ठूलो जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्। अहिले मुख्य चासो पुलको तत्काल संरक्षण, नदी नियन्त्रण र जोखिममा परेका बस्तीको सुरक्षामै केन्द्रित भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button