सभामुखकी सासूको निधनपछि प्रतिनिधिसभा बैठक बुधबारसम्म सर्यो

ड्रागन मिडिया सम्वाददाता
मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक सभामुख डोलप्रसाद अर्यालकी सासूको निधन भएपछि बुधबार दिउँसो १ बजेसम्मका लागि सारिएको छ।
संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेले मंगलबार बिहान सूचना जारी गर्दै ‘विशेष कारण’ का कारण बैठकको मिति र समय परिवर्तन गरिएको जनाएका थिए। संसद सचिवालयका अनुसार सूचनामा उल्लेख गरिएको विशेष कारण सभामुख अर्यालकी सासू शिवकुमारी केसीको निधन हो।
९० वर्षीया केसीको मंगलबार बिहान निधन भएको हो। उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएको र गत शनिबार घर लगिएको सभामुखको सचिवालयले जनाएको छ।
सासूको निधनपछि सभामुख अर्यालले प्रतिनिधिसभाको मंगलबारको बैठक सारेर बुधबार दिउँसो १ बजे बस्ने गरी सूचना प्रकाशन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए।
प्रतिनिधि सभा नियमावली २०८३ को नियम ६ मा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने व्यवस्था छ। तर सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबु बाहिरको परिस्थिति परी बैठकमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन गर्न सक्ने व्यवस्था पनि नियमावलीमा छ।
यसअनुसार सभामुख अर्यालले बैठक स्थगित नगरी उपसभामुख रुबी कुमारीलाई लिखित निर्देशन दिएर प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था थियो। तर उनले उपसभामुखलाई बैठक सञ्चालनको जिम्मेवारी नदिई बैठक नै बुधबारसम्मका लागि सारेका हुन्।
उपसभामुख रुबी कुमारीले पनि बैठक स्थगित गरिएको विषय आफूले पछि मात्रै थाहा पाएको बताएकी छन्। संसद सचिवालयका अधिकारीले भने उपसभामुखलाई पछिल्लो समय बैठक सञ्चालनको अभ्यास गराइँदै आएको र उनको अनुभव तथा आत्मविश्वास क्रमशः बढिरहेको बताएका छन्।
यसअघि पनि सभामुख वा राष्ट्रिय सभा अध्यक्षको अनुपस्थितिमा लिखित अधिकार दिएर उपसभामुख तथा उपाध्यक्षले बैठकको प्रारम्भदेखि स्थगनसम्मको जिम्मेवारी सम्हालेका उदाहरण छन्। त्यसैले मंगलबारको घटनाले सभामुखको अनुपस्थितिमा उपसभामुखको संवैधानिक तथा संसदीय भूमिका कसरी प्रयोग गर्ने भन्ने प्रश्नसमेत उठाएको छ।





