हिमालयन लाइफका पूर्व सीईओ कर्णलाई २५ लाख धरौटीमा छाड्न आदेश

ड्रागन मिडिया सम्वाददाता
विशेष अदालतले सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी अभियोग लागेका हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मंगलबार कर्णसँग २५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
अदालतले तोकिएको रकम नगद धरौटी वा सो बराबरको बैंक जमानत दिए कर्णलाई तारिखमा राखेर मुद्दाको पुरपक्ष गर्न र धरौटी नदिए कारागार पठाउन आदेश दिएको छ।
कर्णविरुद्ध ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन, प्रयोग तथा त्यसको स्रोत लुकाएको अभियोग लगाइएको छ।
आरोपपत्रमा कर्णले हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहँदा आफ्नो ओहोदाको दुरुपयोग गरी अन्य प्रतिवादीसँगको मिलेमतोमा नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबारमा कृत्रिम माग सिर्जना गर्ने, मूल्यमा उतारचढाव ल्याउने तथा बिमा कोषको रकम दुरुपयोग गरी गैरकानुनी लाभ लिएको आरोप लगाइएको छ।
अदालतमा बयानका क्रममा भने कर्णले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्। उनले बिमा प्राधिकरणको स्वीकृतिमा कम्पनीको मुनाफाका लागि सेयरमा लगानी गरिएको दाबी गर्दै सेयरको कृत्रिम मूल्य सिर्जना गर्ने वा बिमा कोषको रकम दुरुपयोग गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन्।
अदालतको मंगलबारको आदेश मुद्दाको अन्तिम फैसला भने होइन। कर्णविरुद्ध लगाइएको अभियोगको तथ्य र प्रमाणमाथि मुद्दाको थप सुनुवाइ तथा परीक्षणपछि अदालतले अन्तिम निर्णय गर्नेछ।





