वीरगञ्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन सुरु

ड्रागन मिडिया सम्वाददाता
सरकारले लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न गठन गरेको कार्यदलले कारखानाको स्थलगत अध्ययन शुरु गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ विभागीय इञ्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले वीरगञ्जको पिपरास्थित चिनी मिलको स्थलगत अनुगमन गरेको हो।
अनुगमनका क्रममा कार्यदलले कारखानाका भवन तथा अन्य भौतिक संरचना, मेसिनरी र पार्टपुर्जाको वर्तमान अवस्था तथा तिनलाई पुनःप्रयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गरेको कार्यदलका संयोजक यादवले जानकारी दिए।
सरकारले गत भदौ १ गते चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य छन्।
कार्यदललाई १५ दिनभित्र कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनःसञ्चालनको सम्भाव्यता, आवश्यक कार्ययोजना तथा सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ।
लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी मिलका विद्यमान संरचना र मेसिनरी पुनःप्रयोग गरेर उद्योग सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि तथा पूर्वाधार आवश्यक पर्ने भन्ने विषयसमेत अध्ययनको मुख्य पक्ष रहेको छ।
सरकारले कारखानाको भौतिक तथा प्राविधिक अवस्था मूल्याङ्कन गर्दै पुनःसञ्चालनका लागि व्यावहारिक आधार र आवश्यक कार्ययोजना पहिचान गर्ने उद्देश्यले अध्ययन अघि बढाएको हो।





