नापी सर्भेक्षक दम्पतीविरुद्ध ३ करोड ७१ लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

ड्रागन मिडिया सम्वाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सुडीकी श्रीमती सुमिन्त्रा देवी साहलाई समेत प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
साविकको भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत अस्थायी अमिन पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका सुडीको २०४६ साल वैशाख १६ गतेदेखि २०८१ साल जेठ ३२ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आयोगले उनको आय, खर्च, लगानी तथा सम्पत्ति सिर्जनाबारे अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा पारिश्रमिक बचत, विभिन्न भत्ता, घरजग्गा बिक्री, एकासगोलको आय, ऋण तथा सापटी, शेयर बिक्री, बिमा परिपक्वता, कृषि आय, छात्रवृत्ति, ब्याज तथा सुन बिक्रीलगायत वैधानिक स्रोतबाट सुडीको कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा आय देखिएको आयोगले जनाएको छ।
सोही अवधिमा उनले व्यक्तिगत जग्गा र शेयर खरिद, सवारी साधन खरिद, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, ऋण तथा सापटी भुक्तानी, बैंक मौज्दात, अन्य व्यक्तिलाई दिएको ऋण तथा सापटी र जग्गा खरिदसम्बन्धी कमिसन तथा थप खर्च गरी कुल ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ ९५ पैसा बराबरको सम्पत्ति सिर्जना, खर्च तथा लगानी गरेको अख्तियारको दाबी छ।
कुल वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ।
अख्तियारका अनुसार सार्वजनिक पदमा रहँदा पदीय अधिकारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको केही सम्पत्ति सुडीले आफ्नी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखेका थिए।
आयोगले स्रोत पुष्टि हुन नसकेको ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसालाई बिगो कायम गरी सुडीविरुद्ध सोही बराबरको जरिवाना र कानुनबमोजिम कैद सजायको मागदाबी गरेको छ।





