१७ भाद्र २०८३, बुधबार

डेढ महिनादेखि हुम्लामा खाना पकाउने ग्यास आपूर्ति ठप्प

ड्रागन मिडिया सम्वाददाता

हिमाली जिल्ला हुम्लामा डेढ महिनादेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति ठप्प भएको छ। नेपालगञ्ज र सुर्खेतबाट ग्यास आपूर्ति गर्दै आएका डिलरले हुम्लाका व्यापारीलाई सिलिण्डर उपलब्ध गराउन नसकेपछि जिल्लामा ग्यास अभाव चर्किएको हो।

सिमकोट बजारका उपभोक्ताले ग्यास पाउन छाडेका छन्। बजारमा ग्यास खोज्दा व्यापारीले मौज्दात नभएको जवाफ दिने गरेका छन्। ग्यास सकिएका अधिकांश उपभोक्ता दाउराको चुल्हो बनाएर खाना पकाउन बाध्य भएका छन्।

आदित्य जनरल स्टोरका रेशन महतका अनुसार डेढ महिनादेखि हुम्लामा नयाँ ग्यास भित्रिएको छैन। उनले करिब एक महिनाअघि ३५० सिलिण्डर ग्यास ल्याउन सुर्खेतस्थित डिलरको खातामा अग्रिम रकम जम्मा गरे पनि आपूर्ति हुन नसकेको बताए।

डिलरले चार दिनअघि ५० सिलिण्डर मात्र उपलब्ध गराउन सकिने बताए पनि तीन सयभन्दा बढी ग्राहक रहेको अवस्थामा सीमित सिलिण्डर ल्याउँदा वितरणमा समस्या हुने भन्दै आफूले नल्याएको महतले बताए। उनले अग्रिम जम्मा गरेको रकम फिर्ता माग्ने तयारीसमेत गरेका छन्।

ग्यास अभावसँगै सिमकोट बजारमा इन्डक्सन चुल्होसमेत सहज रूपमा पाउन छाडेपछि उपभोक्ता दाउरा किनेर भान्सा चलाउन बाध्य भएका छन्। स्थानीय ग्यास व्यापारीले नेपालगञ्ज र सुर्खेतबाटै पर्याप्त आपूर्ति नभएकाले हुम्लामा अभाव सिर्जना भएको बताएका छन्।

यसअघि आपूर्ति अभावका बेला हुम्लामा नयाँ ग्यास सिलिण्डरको मूल्य प्रतिगोटा पाँच हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो। अवस्था सहज हुँदा नयाँ सिलिण्डर करिब चार हजार एक सय रुपैयाँ र ग्यास भरिएको सिलिण्डर करिब तीन हजार तीन सय रुपैयाँमा बिक्री हुने गरेको थियो।

तर अहिले मूल्यभन्दा ग्यासको उपलब्धता नै मुख्य समस्या बनेको व्यापारी तथा उपभोक्ताले बताएका छन्। दुर्गम हुम्लामा ग्यास आपूर्ति लामो समयसम्म अवरुद्ध हुँदा दैनिक घरायसी उपभोगसँगै होटल तथा अन्य व्यवसायसमेत प्रभावित हुने जोखिम बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button