तीन वैदेशिक रोजगार व्यवसायीले संघ संस्थासँगको आबद्धता त्यागेको घोषणा

ड्रागन मिडिया सम्वाददाता
वैदेशिक रोजगार क्षेत्रमा स्थापित तीन व्यवसायीले व्यवसायसँग सम्बन्धित संघ संस्था तथा पेशागत संगठनसँगको आबद्धता परित्याग गरेको घोषणा गरेका छन्।
व्यवसायी रघुनाथ पुरी, मिलन कट्टेल र रविन गुरुङले मलेसियाको रोजगारीमा सिण्डिकेट गरेको आरोप लगाउँदै आफूहरूमाथि अनावश्यक लाञ्छना लगाइएको तथा कार्यालयमा हुलहुज्जत गरिएको भन्दै सम्बन्धित संघ संस्थाको सदस्यता त्यागेको बताएका हुन्।
तीनै जना नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका विभिन्न तहमा आबद्ध रहिसकेका व्यवसायी हुन्। उनीहरूले पछिल्लो समय व्यवसायिक संस्थामा अनावश्यक राजनीति र गैरव्यवसायिक गतिविधि बढेको आरोप लगाउँदै अब व्यवसायबाहेक कुनै राजनीतिक वा पेशागत संगठनमा आबद्ध नरहने निर्णय गरेको बताएका छन्।
एसिया लिंकका सञ्चालक कट्टेलले अनावश्यक राजनीति र गैरव्यवसायिक आचरणका कारण आफूहरूले सम्बन्धित संगठनबाट अलग हुने निर्णय गरेको बताए।
द रिभर ओभरसिजका पुरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका सल्लाहकार रहँदै आएका थिए। ट्रष्ट नेपालका गुरुङ प्रगतिशील मञ्चका सल्लाहकार हुन् भने एसिया लिंकका कट्टेल मञ्चका पूर्वमहासचिव हुन्।
यसैबीच प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावलले छुट्टै वक्तव्य जारी गर्दै पुरी, कट्टेल र गुरुङलाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको बताएका छन्।
यससँगै तीन व्यवसायीले स्वेच्छाले आबद्धता परित्याग गरेको घोषणा र मञ्चले उनीहरूलाई निष्कासन गरेको दाबी एकै समयमा सार्वजनिक भएका छन्। मलेसियाको रोजगारीमा सिण्डिकेट गरिएको भन्ने आरोपलाई लिएर वैदेशिक रोजगार व्यवसायीबीच बढेको विवादले पेशागत संगठनभित्रको मतभेदसमेत सतहमा ल्याएको छ।





