१७ भाद्र २०८३, बुधबार

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषदले पायो पूर्णता

ड्रागन मिडिया सम्वाददाता

लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। तीन मन्त्रीको शपथसँगै मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मंगलबार आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णा कुश्मा थारूलाई शपथ गराएका हुन्।

शपथ समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर र उपसभामुख मेनुका खाँडकेसीलगायतको उपस्थिति थियो। मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तीमगरले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम सोमबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।

पुनर्गठनपछि तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि स्वास्थ्य मन्त्रालय सम्हालिरहेका घिमिरेलाई सामाजिक विकास मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालिरहेका चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको हो। त्यस्तै, सामाजिक विकास मन्त्रालय सम्हालिरहेका पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा सारिएको छ।

सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार वर्तमान प्रदेश सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेपाली कम्युनिस्ट पार्टीबाट तीन र जनता समाजवादी पार्टी, नेपालबाट दुई मन्त्री रहने व्यवस्था गरिएको छ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिस्ट पार्टीका १३, जनता समाजवादी पार्टी, नेपालका पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, जनमत पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक र एक स्वतन्त्र सदस्य छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button