बुधबार मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा

ड्रागन मिडिया सम्वाददाता
सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जानकारी मुस्लिम आयोगबाट प्राप्त भएकाले उक्त दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको हो।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचनामा २०८२ साल फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिने प्रावधान रहेको उल्लेख छ।
सोही व्यवस्थाअनुसार मुस्लिम आयोगले यस वर्ष मोहम्मद जयन्ती भदौ १० गते परेको जानकारी गराएपछि गृह मन्त्रालयले बिदाको निर्णय सार्वजनिक गरेको हो।
यो बिदा देशभरका सबै सरकारी कार्यालय तथा सर्वसाधारणका लागि भने होइन। गृह मन्त्रालयले स्पष्ट रूपमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा हुने जनाएको छ।
मन्त्रालयले मोहम्मद जयन्तीका अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई शुभकामनासमेत व्यक्त गरेको छ।





