नयाँ बानेश्वरमा ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

ड्रागन मिडिया सम्वाददाता
काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान नयाँ बानेश्वर क्षेत्रमा जथाभावी सडक पार गरिरहेका कठायतलाई ड्युटीमा रहेकी महिला ट्राफिक प्रहरीले आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। तर उनले प्रहरीको निर्देशन नमानी विवाद गर्दै ट्राफिक प्रहरीमाथि हातपात गरेको बताइएको छ।
घटनापछि अवस्था नियन्त्रणमा लिन पुगेका अन्य प्रहरीमाथि समेत कठायतले हातपात गरेको दृश्य सार्वजनिक भएको भिडियोमा देखिन्छ।
प्रहरीले कठायतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा लगेको छ। उनीमाथि घटनासम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





