१७ भाद्र २०८३, बुधबार

एमाले कार्यदलको सुझाव: ओलीले नेतृत्व हस्तान्तरण गरी कार्यकर्ताको भावना सम्बोधन गर्नुपर्ने

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’ले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणमार्फत पार्टी कार्यकर्तामा बढेको असन्तुष्टि र परिवर्तनको अपेक्षा सम्बोधन गर्न सुझाव दिएको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा पार्टी र सरकार कमजोर बन्नुका कारणमध्ये नेतृत्वको कार्यशैलीसमेत रहेको औँल्याउँदै पार्टीमा नयाँ ढंगले अघि बढ्न नेतृत्व तहबाटै पहल आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिवेदनले पार्टीभित्र नेतृत्वको सहज हस्तान्तरण हुन नसक्दा नेतृत्वप्रति अनास्था र असन्तुष्टि बढ्ने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ। पार्टी नेतृत्वप्रतिको असन्तोषलाई केवल भूराजनीतिक परिस्थितिसँग जोडेर व्याख्या गर्न उचित नहुने पनि कार्यदलको ठहर छ।

प्रतिवेदनमा पार्टी नेतृत्वप्रतिको असन्तोष भदौ २३ र २४ का घटनाअघि नै सार्वजनिक रूपमा देखिन थालेको र तत्कालीन प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा विशेष सुरक्षा व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भइसकेको उल्लेख छ।

भदौ २३ र २४ पछाडि नेतृत्वबारे पार्टीभित्र उठेका प्रश्नलाई महाधिवेशनमार्फत सम्बोधन गर्ने प्रयास गरिए पनि त्यसले समस्या समाधान गर्न नसकेको कार्यदलको निष्कर्ष छ। यस्तो अवस्थामा पार्टी नेतृत्व स्वयंले परिस्थितिको गम्भीर समीक्षा गर्दै आधारभूत तहका कार्यकर्ताको भावना सम्बोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।

कार्यदलले पार्टी विधानमा यसअघि रहेको ७० वर्षे उमेर हद र कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनःस्थापित गर्नसमेत सुझाव दिएको छ।

प्रतिवेदनमा उमेर हद र कार्यकालको सीमा पार्टी जीवनको लोकतान्त्रिकीकरणका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै ती व्यवस्था हटाउँदा पार्टीको क्रियाशीलतामा नकारात्मक प्रभाव परेको बुझाइ कार्यकर्तामा रहेको जनाइएको छ।

कार्यदलका अनुसार अधिकांश कार्यकर्ताले विधान संशोधन गरी ७० वर्षे उमेर हद र कार्यकारी पदमा बढीमा दुई कार्यकाल रहने व्यवस्था पुनःस्थापित गर्नुपर्ने राय दिएका छन्। नेतृत्वमा नियमित पुस्तान्तरण सुनिश्चित भए मात्र पार्टीभित्र नयाँ पुस्ताले भविष्य देख्न सक्ने र कार्यकर्तामा विश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने प्रतिवेदनको निष्कर्ष छ।

कार्यदलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य छन्।

त्यस्तै छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, महेश बस्नेत, लिलानाथ श्रेष्ठ र दामोदर भण्डारीसमेत कार्यदलमा सदस्य छन्।

कार्यदलको प्रतिवेदनले निर्वाचन परिणामको समीक्षालाई मात्र नभई एमालेभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र संगठन पुनर्गठनको बहसलाई समेत औपचारिक रूपमा अघि सारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button