१७ भाद्र २०८३, बुधबार

दीपक भट्टसँग जोडिएको वित्तीय कसुरमा फरार चार प्रतिवादी पक्राउ

ड्रागन मिडिया सम्वाददाता

व्यवसायी दीपक भट्टसमेत जोडिएको शंकास्पद वित्तीय कारोबार तथा धितोपत्र र बिमा ऐनविपरीतका कसुरसम्बन्धी मुद्दामा फरार रहेका चार प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बिमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाएको सीआईबीले फरार रहेका चार जनालाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी समिति सदस्य ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक समिति सदस्य ४१ वर्षीया सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी सञ्चालक समिति सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ छन्।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पौडेलमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ र बिमा ऐन, २०७९ अन्तर्गतका कसुरमा अनुसन्धान भइरहेको छ। महर्जन धितोपत्र सम्बन्धी ऐनअन्तर्गत तथा मालाकार र श्रेष्ठ बिमा ऐनअन्तर्गतको कसुरसम्बन्धी अनुसन्धानमा प्रतिवादी रहेका छन्।

सीआईबीले भट्टसँग सम्बन्धित विभिन्न कम्पनीमा भएको लगानी, शेयर कारोबार तथा बिमा कम्पनीका कोष परिचालनसम्बन्धी गतिविधिमा कानुनविपरीत कार्य भएको आशंकामा लामो समयदेखि अनुसन्धान गर्दै आएको छ। पक्राउ परेका चार जनाको भूमिकासमेत सोही अनुसन्धानको दायरामा रहेको ब्यूरोले जनाएको छ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बिमा प्राधिकरणले यसअघि सम्बन्धित कम्पनी तथा तिनका पदाधिकारीको वित्तीय कारोबारमा अनियमितता भएको आशंकासहित थप अनुसन्धानका लागि प्रतिवेदन तथा विवरण उपलब्ध गराएका थिए।

पक्राउ परेका चारै जनालाई थप कानुनी प्रक्रिया अघि बढाउन काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको सीआईबीले जनाएको छ। उनीहरूमाथि लगाइएका आरोपको अन्तिम निरुपण भने अदालतबाट हुने हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button