हैटीको केन्सकोफमा गिरोहको आक्रमण, मृतक संख्या ४७ पुग्यो

ड्रागन मिडिया समाचार कक्ष
हैटीको राजधानी पोर्ट ओ प्रिन्सनजिकको केन्सकोफ क्षेत्रमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सशस्त्र समूहले आइतबार रातिदेखि केन्सकोफका विभिन्न बस्तीमा आक्रमण गर्दै घरमा आगजनी र स्थानीय बासिन्दामाथि गोली प्रहार गरेका थिए। प्रारम्भिक विवरणमा मृतक संख्या ३० देखि ४० बीच रहेको बताइए पनि पछि संख्या बढेको हो।
स्थानीय अधिकारीहरूले आक्रमणमा सशस्त्र गिरोहहरूको गठबन्धन ‘भिभ अन्साम’ संलग्न रहेको बताएका छन्। गिरोहका सदस्यले आवासीय क्षेत्र, एउटा चर्च तथा विभिन्न निजी सम्पत्तिलाई निशाना बनाएको जनाइएको छ।
केन्सकोफ राजधानीमाथिको पहाडी क्षेत्रमा अवस्थित रणनीतिक स्थान हो। यहाँबाट पेटिओन भिलतर्फ जाने मार्ग तथा राजधानीलाई हैटीको दक्षिणी क्षेत्रसँग जोड्ने सडकमा पहुँच पुग्छ। पेटिओन भिल क्षेत्रमा विभिन्न विदेशी दूतावास, होटल तथा अस्थायी सरकारी संरचना रहेका छन्।
हैटी सरकारले आक्रमणको निन्दा गर्दै क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। सरकारले केन्सकोफलाई गिरोहको नियन्त्रणमा जान नदिने र राज्यको अधिकार पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइजको हत्या भएपछि हैटीको सुरक्षा संकट तीव्र भएको हो। त्यसयता सशस्त्र गिरोहहरूले राजधानी र आसपासका क्षेत्रमा आफ्नो प्रभाव उल्लेखनीय रूपमा विस्तार गरेका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार गिरोह हिंसाका कारण करिब १५ लाख मानिस विस्थापित भएका छन्।
केन्सकोफमा यसअघि पनि पटक पटक आक्रमण हुँदै आएको छ। सन् २०२५ को शुरुआतयता भएका श्रृंखलाबद्ध हिंसामा सयौँ मानिस मारिएका तथा ठूलो सङ्ख्यामा घर क्षतिग्रस्त भएका छन्।
पछिल्लो आक्रमणले आगामी डिसेम्बर १३ मा तय गरिएको राष्ट्रपति तथा संसदीय निर्वाचनमाथि थप सुरक्षा चुनौती सिर्जना गरेको छ। हैटीले एक दशकपछि पहिलोपटक राष्ट्रिय निर्वाचन गर्ने तयारी गरिरहेको छ, तर निर्वाचन परिषदले समेत निर्धारित मितिमा मतदान गराउन स्वीकार्य सुरक्षा अवस्था र पर्याप्त आर्थिक स्रोत आवश्यक पर्ने जनाएको छ।
राजधानी र आसपासको ठूलो भूभागमा सशस्त्र गिरोहको प्रभाव कायम रहेकाले निर्वाचनअघि सुरक्षा नियन्त्रण पुनःस्थापित गर्नु हैटी सरकारका लागि सबैभन्दा कठिन चुनौती बनेको छ।





