१७ भाद्र २०८३, बुधबार

प्रधानमन्त्री शाहले आज संसदमा सांसदका प्रश्नको जवाफ दिने

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

संघीय संसद सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले प्रत्यक्ष जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरलाई सरकारको नीति, निर्णय र कार्यसम्पादनबारे संसदमार्फत जवाफदेहिता सुनिश्चित गर्ने महत्वपूर्ण संसदीय अभ्यासका रूपमा लिइन्छ। सांसदहरूले समसामयिक राष्ट्रिय विषय, सरकारको कार्यसम्पादन तथा सार्वजनिक सरोकारका प्रश्न प्रधानमन्त्रीसमक्ष राख्नेछन्।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ पनि प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्नेछन्। नेपाल र भारतबीचको दीर्घकालीन विद्युत व्यापार तथा नेपालको बढ्दो विद्युत निर्यातका दृष्टिले उक्त सम्झौतालाई महत्वपूर्ण मानिएको छ।

आजै संघीय संसदअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्ने कार्यतालिका रहेको छ।

मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालकी सासूको निधनपछि बुधबारसम्मका लागि सारिएको थियो। त्यसपछि प्रधानमन्त्रीसँगको निर्धारित प्रश्नोत्तरसमेत आज हुने भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button