आज देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लागेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा राति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन अनुरोध गरिएको छ।





