ओखलढुङ्गामा विद्युत चुहावटबाट आगलागी, दुई घर नष्ट हुँदा २६ लाखको क्षति

ड्रागन मिडिया सम्वाददाता
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत चुहावटका कारण आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मंगलबार साँझ भएको आगलागीबाट करिब २६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी शुरु भएको थियो। आगो फैलिँदै जाँदा उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासी परिचालन भएका थिए। संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। यसबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। उनको घरमा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।





