१७ भाद्र २०८३, बुधबार

चीनतर्फबाट भोटेकोशीमा आकस्मिक बाढी, टिमुरे–स्याफ्रुबेसी र जलविद्युत क्षेत्रमा ठूलो क्षतिको आशंका

ड्रागन मिडिया सम्वाददाता

चीनतर्फबाट भोटेकोशी नदीमा अचानक आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको आशंका गरिएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जनाएका छन्।

बाढीका कारण टिमुरे भन्सार क्षेत्र, स्याफ्रुबेसी तथा आसपासका बस्ती र केही जलविद्युत आयोजना प्रभावित भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढी अचानक आएको र नदीको बहाव तीव्र भएकाले भोटेकोशी आसपासका क्षेत्रमा थप क्षति भएको हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत टिमुरे र स्याफ्रुबेसी क्षेत्र तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक सूचना आएको छ। यद्यपि घटनास्थलबाट विस्तृत विवरण प्राप्त भइसकेको छैन।

उनले प्रशासन तथा सुरक्षा निकायका टोली प्रभावित क्षेत्रतर्फ गइरहेको जानकारी दिँदै स्थलगत निरीक्षणपछि मात्रै क्षतिको वास्तविक अवस्था स्पष्ट हुने बताए।

बाढीको जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा समेत सतर्कता सूचना पठाइएको छ। रसुवा प्रशासनले नुवाकोट र धादिङसहित नदीको तल्लो तटीय क्षेत्रमा पर्ने जिल्लालाई सम्भावित जोखिमबारे जानकारी गराइसकेको जनाएको छ।

स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदी किनारतर्फ नजान आग्रह गरेको छ। बाढीको बहाव र सम्भावित थप जोखिमको अवस्था निरन्तर निगरानी भइरहेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button