विद्यार्थीलाई कपाल छोटो बनाउन दबाब दिएको भन्दै विद्यालयविरुद्ध ‘हेलो सरकार’मा उजुरी

ड्रागन मिडिया सम्वाददाता
विद्यालय तथा उच्च शिक्षा तहका विद्यार्थीलाई कपाल छोटो बनाउन दबाब दिएको भन्दै ‘हेलो सरकार’ र प्रहरीसमक्ष उजुरी पर्न थालेका छन्। शिक्षा नियमावलीले विद्यार्थीको इच्छाविपरीत कपाल काट्न वा काट्न लगाउन नहुने व्यवस्था गरेपछि कतिपय विद्यालयले अभिभावकमार्फत विद्यार्थीलाई कपाल छोटो बनाउन आग्रह गर्न थालेका छन्।
चितवनको कृष्णपुरका विनोद ढकालका अनुसार कक्षा ९ मा अध्ययनरत उनका छोरालाई कपाल छोटो बनाउन विद्यालयबाट समेत आग्रह आएको थियो। तर छोराले कपाल काट्न नमानेपछि जबर्जस्ती गर्न नसकिएको उनले बताए। भरतपुर–१० का बुद्धिकान्त न्यौपानेले पनि कक्षा १२ र कक्षा ७ मा अध्ययनरत आफ्ना छोराले कपाल छोटो बनाउन नमानेको अनुभव सुनाएका छन्।
पछिल्लो समय विशेषगरी किशोरावस्थाका विद्यार्थीमा लामो तथा फरक शैलीको कपाल राख्ने प्रवृत्ति बढेको अभिभावक र विद्यालयको अनुभव छ। कतिपय विद्यार्थीले कपाल काट्न दबाब दिएको भन्दै सरकारी निकायमा उजुरीसमेत दिने गरेका छन्।
भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले जबर्जस्ती कपाल काट्न लगाएको भन्दै ‘हेलो सरकार’मा उजुरी परेको जानकारी महानगरमा समेत आएको छ। विशेषगरी अभिभावकबाट टाढा बस्ने, छात्रावासमा रहने वा हजुरबुबा हजुरआमासँग बस्ने विद्यार्थीमा विद्यालयको अनुशासनसम्बन्धी निर्देशन पालना गराउन कठिनाइ देखिने गरेको उनले बताए।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले पनि कपाल काट्ने विषयमा विद्यालयहरू सतर्क हुन थालेको बताए। उनका अनुसार देशभर ३५ भन्दा बढी विद्यालयविरुद्ध विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न लगाएको आरोपमा उजुरी परेको जानकारी प्राप्त भएको छ। विशेषगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीमा यस्तो विवाद बढी देखिएको उनको भनाइ छ।
सरकारद्वारा स्वीकृत शिक्षा नियमावलीको १०औँ संशोधनमा विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न नपाइने व्यवस्था गरिएको छ। नियमावलीको नियम २५ ले विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामा नकारात्मक असर पार्ने गतिविधि विद्यालय परिसर वा कक्षाकोठामा गर्न नपाइने व्यवस्था गरेको छ। विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन पनि रोक लगाइएको छ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरेका अनुसार इन्टरनेट, सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत र सेलिब्रेटी संस्कृतिको प्रभाव किशोरावस्थामै तीव्र रूपमा पुग्न थालेकाले विद्यार्थी आफ्नो रूप र शैलीमा फरक पहिचान खोज्न थालेका छन्। परम्परागत छोटो कपालको सट्टा आफूलाई आधुनिक र आकर्षक देखाउने शैली रोज्नु पनि यही सामाजिक परिवर्तनको एउटा अभिव्यक्ति भएको उनको भनाइ छ।
उनका अनुसार किशोरावस्थामा घर र विद्यालयबाट दिइने निर्देशन नमान्ने व्यवहारलाई कहिलेकाहीँ आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्ने साङ्केतिक प्रयासका रूपमा पनि बुझ्न सकिन्छ। तर लामो कपालको उचित सरसफाइ र स्याहार नगरे स्वास्थ्य तथा पढाइमा समय व्यवस्थापनसम्बन्धी समस्या आउन सक्ने विज्ञहरूको सुझाव छ।
विद्यालय अनुशासन र विद्यार्थीको व्यक्तिगत स्वतन्त्रताबीचको सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्नसँगै कपालको शैलीसम्बन्धी विवाद अहिले विद्यालय, अभिभावक र विद्यार्थीबीच नयाँ बहसको विषय बनेको छ।





