त्रिशूलीको बाढीले धादिङका तीन पुल बगायो, बैरेनी बजार जलमग्न

ड्रागन मिडिया सम्वाददाता
रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढ्दा धादिङका विभिन्न स्थानमा तीनवटा पुल बगेका छन्। बुधबार बिहान आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसीतर्फ आवतजावत गर्ने महत्वपूर्ण सडक सञ्जालसमेत प्रभावित भएको छ।
बाढीले गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ जोड्ने फुर्केखोला पुल बगाएको छ। त्यस्तै गजुरी–५ र सिद्धलेक–७ अन्तर्गत घाटबेँसीको पुल तथा गजुरी–६ र सिद्धलेक–७ जोड्ने जरेखेतको पुल पनि बाढीले बगाएको छ।
फुर्केखोला पुल बगेपछि आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम धादिङबेँसी आवतजावत गर्न समस्या भएको छ। अन्य प्रभावित पुलहरू बगेसँगै स्थानीय सडक यातायात र बस्तीबीचको सम्पर्कमा समेत असर परेको छ।
त्रिशूली नदीको पानी महेशदोभान क्षेत्रबाट फर्किएर गल्छी गाउँपालिका–६ स्थित बैरेनी बजारमा पसेपछि बजार क्षेत्र जलमग्न भएको छ।
हालसम्म गल्छी, जिन्टेटार, मासटार र बेनीघाटका पुल सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। नदीको बहाव उच्च रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
बाढीबाट भएको समग्र क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। स्थानीय प्रशासन तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था बुझ्ने र क्षतिको विवरण संकलन गर्ने कार्य जारी राखेका छन्।





