रसुवा–केरुङ बाढीप्रति चीनको उच्च चासो, उद्धार र जोखिम न्यूनीकरणमा सी चिनफिङको निर्देशन

ड्रागन मिडिया समाचार कक्ष
रसुवा र चीनको केरुङ क्षेत्रमा आएको बाढीपहिरोप्रति चीनले उच्च तहबाट चासो व्यक्त गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत तथा थप जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार बिहान करिब १०:३० बजे सिचाङ स्वायत्त क्षेत्रको सिगात्से शहरअन्तर्गत केरुङ काउन्टीको केरुङ बन्दरगाह आसपासको नेपालतर्फ पहिरो गएको थियो। घटनापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले अवस्थालाई गम्भीरतापूर्वक लिँदै तत्काल उद्धार र विपद् व्यवस्थापनका लागि निर्देशन दिएका हुन्।
सीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न, जोखिममा रहेका मानिसलाई तत्काल सुरक्षित स्थानमा सार्न र घाइतेको प्रभावकारी उपचार गरी मानवीय क्षति न्यून गर्न सक्दो प्रयास गर्न निर्देशन दिएका छन्। उनले विपद्को निरन्तर निगरानी र प्रारम्भिक चेतावनी प्रणालीलाई सुदृढ बनाउँदै वैज्ञानिक ढंगले उद्धार कार्य सञ्चालन गर्न तथा थप विपद् हुन नदिन आवश्यक सावधानी अपनाउन जोड दिएका छन्।
चीन हाल बाढी नियन्त्रणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै सीले सबै क्षेत्र र सम्बन्धित निकायलाई बाढी तथा आँधीबेहरीबाट हुन सक्ने जोखिमविरुद्ध प्रभावकारी तयारी गर्न निर्देशन दिएका छन्। सम्भावित जोखिम र लुकेका खतराको पहिचान तथा न्यूनीकरणलाई तीव्र बनाउँदै ठूला विपद् र दुर्घटना रोक्नुपर्ने उनको निर्देशन छ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि केरुङ क्षेत्रमा भएको बाढीपहिरोपछि बेपत्ता र प्रभावित व्यक्तिको संख्या यथाशीघ्र यकिन गर्न तथा उद्धार र राहतका लागि आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन्। जोखिममा रहेका नागरिकलाई व्यवस्थित रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उद्धारमा वैज्ञानिक विधि अपनाउन उनले जोड दिएका छन्।
लीले चिनियाँ विदेश मन्त्रालयलाई नेपालसँग सञ्चार तथा समन्वय थप सुदृढ बनाउन र घटनाको अवस्थाबारे समयमै जानकारी आदानप्रदान गर्न निर्देशन दिएका छन्। सीमा क्षेत्रसँग जोडिएको विपद् भएकाले उद्धार तथा जोखिम व्यवस्थापनका कामलाई नेपालसँग आवश्यक समन्वयमा अघि बढाउनुपर्ने उनको भनाइ छ।
उनले राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयलगायत सम्बन्धित निकायलाई देशभरका विपद् जोखिम तथा सम्भावित खतराको व्यापक अध्ययन गर्न, निगरानी र प्रारम्भिक चेतावनी प्रणाली थप प्रभावकारी बनाउन तथा जनताको जीवन सुरक्षाका उपाय कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।
नेपालतर्फ रसुवा हुँदै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले विभिन्न पूर्वाधारमा क्षति पुर्याइरहेको अवस्थामा चीनतर्फबाट राष्ट्रपति र प्रधानमन्त्री तहबाटै उद्धार तथा समन्वयका लागि निर्देशन आउनुले सीमापार विपद्को गम्भीरता र दुवै देशबीच तत्काल समन्वयको आवश्यकता देखाएको छ।





