कैलाश मानसरोवर यात्रामा रहेका ४७ पर्यटक सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता
कैलाश मानसरोवर यात्राका लागि रसुवा पुगेका ४७ जना पर्यटक भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सम्पर्कविहीन भएका छन्।
हिमालयन ग्लेसियर एडभेञ्चर एण्ड ट्राभल कम्पनीका अनुसार सम्पर्कविहीन हुनेमा १० जना नेपाली र ३७ जना विदेशी नागरिक रहेका छन्। बुधबार बिहानदेखि उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको कम्पनीले जनाएको छ।
पर्यटकहरू कैलाश मानसरोवर यात्राका क्रममा रसुवा पुगेका थिए। बुधबार बिहान चीनतर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा आसपासका क्षेत्रमा व्यापक क्षति पुगेको छ। सडक, पुल, बस्ती तथा जलविद्युत पूर्वाधारसमेत प्रभावित भएकाले सञ्चार र यातायात सम्पर्कमा समस्या देखिएको छ।
सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक अवस्था भने अझै स्पष्ट भइसकेको छैन। सञ्चार सम्पर्क विच्छेद भएकै आधारमा उनीहरूलाई बाढीमा बेपत्ता भएको पुष्टि भइसकेको अवस्था छैन।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्यकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन् भने बाढीबाट भएको क्षति र सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्ने प्रयास भइरहेको छ।





