१७ भाद्र २०८३, बुधबार

भोटेकोशीको बाढीमा ८ जनाको मृत्यु, १२ जनाको उद्धार

ड्रागन मिडिया सम्वाददाता

उत्तरी नेपालमा बुधबार बिहान आएको आकस्मिक बाढीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार नुवाकोटमा चार र धादिङमा चार जनाको शव फेला परेको हो।

नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले हालसम्म आठ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लामा व्यापक क्षति पुर्‍याएको छ।

बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले खोज, उद्धार तथा राहतका उपायबारे छलफल गर्न मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र बनाएका छन्। नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ।

सबैभन्दा बढी क्षति रसुवामा भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीले त्यहाँका केही घर बगाउनुका साथै बजार क्षेत्र, जलविद्युत आयोजना, सडक तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार अझै केही व्यक्ति सम्पर्कविहीन तथा बेपत्ता रहेको सूचना आएको छ। उनीहरूको खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

बाढीबाट प्रभावित क्षेत्रको पूर्ण क्षतिको विवरण आउन बाँकी छ। उद्धार टोलीले नदी आसपास तथा सम्पर्कविहीन भएका क्षेत्रहरूमा खोजी जारी राखेका छन् भने प्रशासनले तल्लो तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button