१७ भाद्र २०८३, बुधबार

रसुवा बाढीपीडितको उपचारका लागि बागमती प्रदेशले तीन आकस्मिक स्वास्थ्य टोली खटायो

ड्रागन मिडिया सम्वाददाता

बागमती प्रदेश सरकारले रसुवामा आएको बाढीबाट प्रभावितको उपचार तथा स्वास्थ्य सेवा व्यवस्थापनका लागि तीनवटा आकस्मिक स्वास्थ्य टोली परिचालन गरेको छ। मुख्यमन्त्री किरण थापाको निर्देशनमा प्रदेशअन्तर्गतका विभिन्न अस्पतालबाट चिकित्सक, स्वास्थ्यकर्मी, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीसहित टोली प्रभावित क्षेत्रतर्फ पठाइएको हो।

भक्तपुर अस्पतालबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदीको नेतृत्वमा स्वास्थ्य टोली रसुवा प्रस्थान गरेको छ। टोलीमा जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, सूचना प्रविधि इञ्जिनियर दीपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोखरेल सहभागी छन्।

त्यसैगरी टोखा चण्डेश्वरी अस्पतालबाट पनि आकस्मिक स्वास्थ्य टोली खटाइएको छ। टोलीमा मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्ण खड्का, हाडजोर्नी विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक संगीता छत्कुली, औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापनतर्फ लीलाबहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धो कुमारी राना र चालक उत्तरकुमार गुरुङ रहेका छन्।

बज्रबाराही अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा. कसिन नेपालीको नेतृत्वमा अर्को स्वास्थ्य टोली परिचालन गरिएको छ। टोलीमा मेडिकल अधिकृत डा. आयुषजंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सहभागी छन्।

प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल उपचार आवश्यक पर्ने घाइतेको स्वास्थ्य परीक्षण, आकस्मिक उपचार, औषधि वितरण तथा आवश्यक स्वास्थ्य सहयोग उपलब्ध गराउन टोली परिचालन गरेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button