उद्धारको प्रतीक्षामा रहेकालाई आगो बालेर धुँवाबाट संकेत दिन प्राधिकरणको आग्रह

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा अन्य विपद प्रभावित क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका व्यक्तिलाई आफू रहेको स्थान पहिचान गराउन आगो बालेर धुँवाको संकेत दिन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हेलिकोप्टर र ड्रोनको सहायतामा खोज तथा उद्धार कार्य भइरहेको छ। उद्धार टोलीको ध्यान आकर्षित गर्न सम्पर्कविहीन वा सुरक्षित स्थानमा रोकिएका व्यक्तिले आफू बसेको ठाउँबाट धुँवा देखिने गरी संकेत गर्न अनुरोध गरिएको हो।
प्राधिकरणले भनेको छ, ‘उद्धारको पखाईमा रहेका व्यक्तिले उद्धारका लागि ध्यानाकर्षण गराउन आफू रहेको वा बसेको ठाउँमा आगो बाली धुँवा निकालेर संकेत गर्नुहुन अनुरोध छ।’
बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टर तथा ड्रोन सञ्चालनसँग सम्बन्धित संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्र खोज तथा उद्धार कार्य सञ्चालन गर्न प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट खोजी जारी छ र उद्धारको आवश्यकता रहेका व्यक्तिको स्थान पहिचान गर्न ड्रोन तथा हेलिकोप्टरको प्रयोग भइरहेको छ।





