विपद प्रभावितको जीवनरक्षा र स्वास्थ्य संरक्षणमा जुट्न मेडिकल काउन्सिलको आह्वान

ड्रागन मिडिया सम्वाददाता
नेपाल मेडिकल काउन्सिलले विपद प्रभावित नागरिकको जीवनरक्षा तथा स्वास्थ्य संरक्षणका लागि चिकित्सकीय र मानवीय दायित्वका साथ सक्रिय हुन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आह्वान गरेको छ।
काउन्सिलले विपद प्रभावित क्षेत्रमा उद्धार, आकस्मिक उपचार र आवश्यक स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरूलाई परिचालित हुन आग्रह गरेको हो। घाइते तथा विस्थापित नागरिकमा तत्काल देखिने समस्यामात्र नभई भविष्यमा उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमको समेत समयमै मूल्याङ्कन गर्नुपर्ने काउन्सिलले जनाएको छ।
विपदपछि घाइतेको उपचार, विस्थापित नागरिकको स्वास्थ्य अवस्था, सरसफाइ तथा सुरक्षित खानेपानीको अभाव, संक्रामक रोग फैलिन सक्ने सम्भावना, मानसिक स्वास्थ्यमा पर्ने असर र अन्य स्वास्थ्यसम्बन्धी चुनौतीलाई विशेष ध्यान दिन काउन्सिलले आग्रह गरेको छ।
काउन्सिलले भनेको छ, ‘यस विपदका कारण उत्पन्न हुनसक्ने अल्पकालीन तथा दीर्घकालीन स्वास्थ्य जोखिम, घाइते तथा विस्थापित नागरिकको उपचार, सरसफाइ तथा सुरक्षित खानेपानीको अभाव, संक्रामक रोगको सम्भावित प्रकोप, मानसिक स्वास्थ्यमा पर्नसक्ने असर तथा अन्य स्वास्थ्यसम्बन्धी चुनौतीहरूको समेत समयमै आँकलन गरी आवश्यक रोकथाम तथा उपचारात्मक उपाय अपनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछौं।’
काउन्सिलले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दा समन्वित ढंगले काम गर्न, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, दीर्घरोगी तथा घाइतेको उपचारलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएको छ।





